काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट क्षतिग्रस्त रसुवागढी–स्याफ्रुबेँसी सडकको ट्र्याक खोल्न तथा रसुवागढी–केरुङ नाका तत्काल सञ्चालनमा ल्याउन चीनसँग सहयोग मागेको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले शुक्रबार सिंहदरबारमा नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङसँग भेटवार्ता गर्दै सडक तथा सीमा क्षेत्रका क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा चीनको सहयोग आवश्यक रहेको बताएका हुन्।
भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवागढी नाका र त्यहाँसम्म पुग्ने सडकमा क्षति पुर्याएपछि नाका बन्द छ। नाका बन्द हुँदा स्थानीय नागरिकको आवतजावत, दैनिक सेवा–सुविधा तथा नेपाल–चीनबीचको व्यापार प्रभावित भएको मन्त्री लम्सालले बताएका छन्।
मन्त्री लम्सालले तत्कालका लागि पुरानै स्थानबाट अस्थायी सडक तथा यातायात सञ्चालनको तयारी भइरहेको जानकारी राजदूत वाङलाई गराएका थिए। स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन चीनको प्राविधिक तथा आवश्यक सहयोग र समन्वय आवश्यक रहेको उनले बताएका थिए।
सडक सञ्चालनमा आए स्थानीय नागरिकको आवतजावत सहज हुनुका साथै नेपाल–चीनबीचको व्यापारिक गतिविधि पुनः सञ्चालन गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
सरकारले काठमाडौं–रसुवागढी–केरुङ सडकको दीर्घकालीन विकासका लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गर्ने र आवश्यक स्थानमा नयाँ ट्र्याक खोल्ने कामसमेत अघि बढाएको छ। यसका लागि चीन सरकारको प्राविधिक सहयोग र समन्वय गर्न मन्त्री लम्सालले आग्रह गरेका थिए।
भेटमा रसुवामा बाढीबाट क्षतिग्रस्त सडक तथा अन्य भौतिक पूर्वाधारको पुनर्निर्माण, स्थानीय नागरिकको सहज आवतजावत र नेपालका उत्तरी नाकाहरूको सञ्चालनबारे पनि छलफल भएको थियो।
राजदूत वाङले चीन नेपाललाई हरसम्भव सहयोग गर्न तयार रहेको बताएका थिए। रसुवागढी नाका नेपालको प्रमुख व्यापारिक केन्द्र भएकाले यसको पुनर्निर्माण र सञ्चालनलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनको भनाइ थियो।
बाढीबाट भएको क्षतिको विस्तृत अध्ययन गरेर तत्कालका लागि आवश्यक संरचना निर्माण गर्नुका साथै दीर्घकालीन र प्रभावकारी पूर्वाधार विकासमा ध्यान दिनुपर्ने राजदूत वाङले बताएका थिए।
रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका विषयमा नेपालबाट विशेष प्रस्ताव आए आवश्यक समन्वय र सहयोगका लागि चीनले पहल गर्ने प्रतिबद्धता पनि उनले जनाएका थिए।
भेटमा कोरला र तातोपानी नाकाको सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो। राजदूत वाङले दुवै नाका सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको र आवश्यक समन्वय तथा सहकार्य गर्न तयार रहेको बताएका थिए।
रसुवागढी नाकाको तत्काल पुनः सञ्चालनदेखि काठमाडौं–केरुङ जोड्ने दीर्घकालीन सडक पूर्वाधार निर्माणसम्म नेपाल–चीन सहकार्य अघि बढाउने विषयमा भेटवार्ता केन्द्रित रहेको मन्त्री लम्सालको सचिवालयले जनाएको छ।
















प्रतिक्रिया