१४ आश्विन २०८३, बुधबार | September 30, 2026

ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा



महोत्तरी । सिँचाइका लागि जिल्लाका विभिन्न स्थानमा जडान गरिएको विद्युत् ट्रान्सफर्मर र मोटर चोरी हुँदा किसान मर्कामा परेका छन् ।

निरन्तर चोरीका घटना बढे पनि अपराधमा संलग्नको पहिचान र कारबाही हुन नसक्दा किसानको बेचैनी बढेको हो । पछिल्लो पटक सोनमा-२ को तरहारी र मैनटोल तथा सोनमा-६ को तरहारी र मगरथानाबीचको पोखरी डिलमा जडित ट्रान्सफर्मर सञ्चालन हुनु अगावै चोरी भएको छ । सोनमा गाउँपालिकामा जडित ती ट्रान्सफर्मरमा विद्युत् लाइन जोडेर सञ्चालनको तयारी हुँदै थियो ।

मधेस प्रदेश सरकारले किसानको सिँचाइ सुविधा बढाउने उद्देश्यले जडान गरेको ट्रान्सफर्मर सञ्चालन अगावै चोरी भएका हुन् । “पछिल्ला तीन÷चार दिन लगातार पानी परेको थियो । कसैले त्यता ध्यान दिएनन्, पानी थामिएपछि खेतमा गएका किसानले ट्रान्सफर्मर चोरिएको थाहा पाए,” सोनमा-२ का सामाजिक कार्यकर्ता मदन साह भन्छन, “यो गत शनिबारदेखि सोमबारको बीचमा चोरिएको हुनसक्छ ।”

हाल धानबाली पोटाउने बेलामा दुई÷तीन दिनको फरकमा पानी लगाउनुपर्ने हुन्छ । सञ्चालनमै नआई ट्रान्सफर्मर चोरिएपछि किसान समस्यामा परेका छन् । “पोटाउन लागेको धानमा पानी लगाउन अब कठिन भएको छ,” सोनमा बस्तीकै रामप्रित ठाकुर भन्छन, “अब फेरि आकाश नै ताक्नुपर्ने भयो ।”

ट्रान्सफर्मर चोरी भएपछि किसानले प्रशासन गुहारेका छन् । मङ्गलबार जिल्ला प्रशासन कार्यालय पुगेर चोरी गर्नेको खोजी गरी कारबाही गर्न माग गरेका छन् । सिँचाइका लागि तत्काल अर्को ट्रान्सफर्मरको व्यवस्था गरीदिन किसानले माग गरेका छन् ।

जिल्ला प्रशासनले प्रहरी परिचालन गरी चोरीमा संलग्नको खोजी गर्ने आश्वासन दिएको छ । घटनाबारे तत्काल अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई पत्राचार गरिएको छ ।

सिँचाइका लागि इनार र बोरिङमा जडान गरिएको मोटर यसअघि पनि बाक्लै चोरी हुने गरेका थिए । आर्थिक वर्ष २०८२/८३ मा २८ वटा ट्रान्सफर्मर र कैयौँ मोटर चोरी भएको तथ्याङ्क छ ।

गत वर्ष आफ्नो बस्तीमा मात्र १० वटा इनार र बोरिङमा जडान भएको मोटर चोरी भएको भङ्गाहा-४ का ३० वर्षीय युवा किसान रामईश्वर ठाकुर बताउँछन ।

बर्सेनि यस्ता घटना हुँदै जाने र कोही नसमातिने अवस्थाले चोरको मनोबल बढ्दै गएको किसानको भनाइ छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ६ : २५ बजे

असोज १६ देखि प्रदर्शनमा आउँदै ‘चमेलीको पोइ’, ट्रेलर सार्वजनिक

बुटवल । निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा तयार

स्पेनको शानदार जित, क्रोएसियामाथि ४-१ को विजय

काठमाडौं । युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

मनाङमै अड्किए पर्यटक

मनाङ । अन्नपूर्ण चक्रीय मार्गमा पर्यटक आउने याम सुरु भइसकेको

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

दमौली । लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको

बेनीमा खानेपानीको समस्या

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको