१७ आश्विन २०८३, शनिबार | October 3, 2026

तीन लाख भ्युजपछि सुरु भएको यात्रा : सात सय होटल पुगे तिरास



बुटवल । बुटवलका तिरास लाम्टाङ्गे मगरले पछिल्लो एक वर्षदेखि एउटै लक्ष्य बोकेका छन् । नेपालको हस्पिटालिटी क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म पहिचान दिलाउने । होटल म्यानेजमेन्ट अध्ययन गरेका उनी अहिले यही क्षेत्रका विद्यार्थीलाई अध्यापन गराउँदै आएका छन् । त्यससँगै नेपालको हस्पिटालिटी क्षेत्रको प्रचारप्रसारमा पनि सक्रिय छन् ।

एउटा मोबाइल फोन, ल्यापटप र एक जना सहयोगीको साथमा उनी देशका विभिन्न होटल तथा रिसोर्ट पुग्छन् । पाल्पाको गाउँबाट आएको एउटा युवाले अहिले भिडियोमार्फत नेपालको हस्पिटालिटी क्षेत्रको परिचय विश्वसामु पुर्‍याउने अभियान अघि बढाइरहेका छन् ।

बुटवलको योगीकुटीमा ‘द कफी हब’ सञ्चालन गर्दै आएका तिरास केही वर्षअघिदेखि नै विभिन्न क्षेत्रका व्यक्तिसँग समसामयिक विषयमा कुराकानी गरी सामाजिक सञ्जालमा सामग्री राख्थे । यही क्रममा एक वर्षअघि बुटवलमा सेवा शुभारम्भको तयारीमा रहेको हायात प्यालेस पुगेका उनले मोबाइलबाटै होटलको परिचय दिने गरी करिब २० मिनेटको भिडियो बनाए ।

सामान्य सम्पादनपछि उनले उक्त भिडियो फेसबुकमा राखे । भिडियोले करिब ३ लाख भ्युज पाएपछि उनलाई हस्पिटालिटी क्षेत्रको प्रचारप्रसारका लागि भिडियो बनाउने काममा थप रुचि जाग्यो । त्यसपछि उनले नेपालका विभिन्न होटल तथा रिसोर्टको परिचय दिने उद्देश्यले भिडियो बनाउन थाले ।

एक वर्षको अवधिमा उनी सिद्धार्थ भिलास, टाइगर प्यालेस, चितवनको बनबास रिसोर्ट, टाइगरल्यान्ड फरेस्ट रिसोर्ट, काठमाडौंको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर, ललितपुरको बेस्ट वेस्टर्न प्लस, कपिलवस्तुको लुम्बिनी ग्रीन रिसोर्ट, छपियाको लुम्बिनी प्यालेस रिसोर्ट, पाल्पाको नाङ्लो, नवलपरासीको मचान कन्ट्री भिल्ला र तनहुँको ल्यान्डमार्क फार्म हाउससहित देशका विभिन्न होटल तथा रिसोर्ट पुगेका छन् ।

उनका अनुसार एक वर्षमा सात सयभन्दा बढी होटल तथा हस्पिटालिटी व्यवसायसँग जोडिएका स्थानमा पुगेका छन् । सामान्य होटलदेखि पाँचतारे मान्यता प्राप्त होटलसम्म पुगेर उनले भिडियो सामग्री तयार गरेका छन् । अब भने यसलाई व्यक्तिगत रुचिमा सीमित नराखी अभियानकै रूपमा अघि बढाउने उनको योजना छ ।

‘अबको पाँच वर्षभित्र नेपालको सम्पूर्ण हस्पिटालिटी क्षेत्रलाई विश्वमा चिनाउने लक्ष्य छ,’ उनी भन्छन् ।

होटल तथा रिसोर्टको भिडियो निर्माणका लागि उनले आफ्नै लगानी गर्दै आएका छन् । विभिन्न स्थानमा पुगेर सामग्री तयार गर्ने क्रममा उनले नेपालको हस्पिटालिटी क्षेत्रमा ठूलो लगानी भइरहेको देखेका छन् । तर लगानीअनुसार प्रतिफल नपाउने, दक्ष जनशक्ति टिकाउन कठिन हुनेलगायतका समस्या पनि रहेको उनको अनुभव छ ।

पर्यटन क्षेत्रको विकासका लागि सरकारले नीतिगत रूपमा विशेष ध्यान दिनुपर्ने उनको धारणा छ । पर्यटकलाई धार्मिक तथा ऐतिहासिक स्थलसम्म पुग्न सहज पहुँच, सुरक्षा र प्रभावकारी प्रचारप्रसारमा सरकारको विशेष ध्यान जानुपर्ने उनी बताउँछन् ।

तिरासको यात्रा पाल्पाको रिप्दीकोट गाउँपालिका-८, सोमहरबाट सुरु भएको हो । विसं २०४९ मा जन्मिएका उनले पाल्पा बतासेको कालिका माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे । त्यसपछि बुटवलको न्यू होराइजन कलेजमा होटल म्यानेजमेन्ट विषयमा प्लस टु अध्ययन गरे ।

प्लस टु अध्ययनपछि काठमाडौंस्थित आईएसडी कलेजमा बीएचएम अध्ययनका लागि पुगे । अध्ययनकै क्रममा उनले एक वर्ष चीनमा इन्टर्नसिपसमेत गरे । होटल व्यवस्थापनप्रति आकर्षण बढ्दै गएपछि पढाइ सकेर उनी बुटवल फर्किए ।

नेपालमै व्यवसाय गर्ने सोच बनाएका उनले विसं २०७२ मा बुटवलको सुख्खानगरमा ‘एशियन भिलेज फाइन डाइनिङ रेस्टुरेन्ट’ सञ्चालनमा ल्याए । नयाँ ठाउँ र नयाँ परिवेशमा सुरु गरिएको उक्त व्यवसाय भने दीर्घकालीन बन्न सकेन । भूकम्पको प्रभावसमेत परेको समयमा करिब छ महिनामै व्यवसाय सञ्चालनमा कठिनाइ आएपछि उनले करिब १० लाख रुपैयाँभन्दा बढी लगानी गरेको उक्त व्यवसाय न्यून मूल्यमा बिक्री गरे ।

रेस्टुरेन्ट व्यवसाय छाडेपछि उनी शिक्षण क्षेत्रमा लागे । बुटवलको क्यानन इङ्लिस बोर्डिङ स्कुलबाट होटल म्यानेजमेन्टतर्फ प्लस टु अध्यापन सुरु गरेका उनले त्यसपछि न्यू होराइजन कलेज, ग्लोरियस, मणिमुकुन्द र प्यारामाउन्ट कलेजमा समेत अध्यापन गरे । अध्यापनकै क्रममा उनले काठमाडौंको कान्तिपुर कलेजबाट होटल म्यानेजमेन्ट विषयमा स्नातकोत्तर अध्ययन अघि बढाए ।

बुटवलमा करिब १२ वर्ष अध्यापन गरेका उनले विसं २०७८ मा योगीकुटीमा ‘द कफी हब’ सुरु गरे । व्यवसायमा यसअघि भोगेको अनुभवपछि समयको आवश्यकतालाई ध्यानमा राखेर कफी हबसँगै हस्पिटालिटी सेवा र तालिमलाई पनि जोडेको उनी बताउँछन् ।

‘द कफी हब’ मा वेटर, बारिस्टा र बेकरीलगायतका क्षेत्रमा एक महिना तथा ३५ दिने तालिम सञ्चालन हुँदै आएका छन् । उनका अनुसार पछिल्लो करिब पाँच वर्षको अवधिमा १० हजारभन्दा बढी युवाले त्यहाँबाट विभिन्न तालिम लिएका छन् ।

तालिमपछि रोजगारीको अवसरसमेत प्राप्त हुने भएकाले युवाको आकर्षण बढेको उनको भनाइ छ । आर्थिक रूपमा कमजोर, पिछडिएका तथा विपन्न युवा र गृहिणी महिलालाई लक्षित गर्दै कफी हबले फाराम तथा प्रमाणपत्र शुल्कबापत केवल एक हजार रुपैयाँ लिएर निःशुल्क तालिमसमेत दिँदै आएको छ ।

हस्पिटालिटी क्षेत्रमै अध्ययन, अध्यापन, व्यवसाय र तालिमसँग जोडिएका तिरास अहिले मोबाइल र ल्यापटप बोकेर देशका विभिन्न होटल तथा रिसोर्टको कथा खोजिरहेका छन् । उनको लक्ष्य भने एउटै छ- नेपालको हस्पिटालिटी क्षेत्रलाई नेपालभित्र मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा समेत चिनाउने ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  १० : ०१ बजे

जेष्ठ नागरिक दिवा मिलन केन्द्र तथा धर्मशाला निमार्ण गर्न रामनगरमा महायज्ञ

बुटवल । बुटवल-१०, रामनगरस्थित दुर्गा मन्दिरमा श्रीमद देवि भागवत ज्ञान

एस मोड बस दुर्घटना : थप ४ जनाको सनाखत

नेपालगन्ज । नवलपरासीको सुस्तापूर्वको एस मोडमा भएको सवारी दुर्घटनाको थप

रास्वपा केन्द्रीय समितिको बैठक आज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

तीन लाख भ्युजपछि सुरु भएको यात्रा : सात सय होटल पुगे तिरास

बुटवल । बुटवलका तिरास लाम्टाङ्गे मगरले पछिल्लो एक वर्षदेखि एउटै

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत । असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए