काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाराजगञ्जस्थित निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले छापा मारेको छ। विभागका अधिकारी र प्रहरीसहितको टोलीले बुधबार जबराको घरमा खानतलासी गरेको हो।
स्रोतका अनुसार जबरासँग जोडिएका केही व्यक्ति तथा आफन्तका निवासमा समेत विभागको टोली पुगेको छ। नवराज थपलिया, दीपक तिमल्सिना, नारायण दाहाललगायतका व्यक्तिका घरमा पनि अनुसन्धान टोली पुगेको बताइएको छ। जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको निवासमा समेत खानतलासी गरिएको स्रोतको दाबी छ।
छापाका क्रममा महत्त्वपूर्ण कागजात तथा अन्य प्रमाण संकलन गरिएको स्रोतले जनाएको छ। जबरा र उनीसँग सम्पर्कमा रहेका व्यक्तिहरूबीचको सम्बन्ध तथा आर्थिक कारोबारसम्बन्धी विषयलाई अनुसन्धानको मुख्य आधार बनाइएको बताइएको छ।
यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले असोज ११ गते मध्यराति जबरालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। करिब १२ घण्टा प्रहरी नियन्त्रणमा राखिएपछि उनलाई परिवारको जिम्मा लगाएर छाडिएको थियो। त्यस क्रममा प्रहरीले उनको मोबाइलसमेत नियन्त्रणमा लिएर अनुसन्धानपछि फिर्ता गरेको थियो।
जबरामाथि अनुसन्धान अघि बढ्दै गर्दा उनीसँग सम्पर्कमा रहेका भनिएका इनाम सापकोटामाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। सापकोटाको मोबाइल परीक्षणका क्रममा जबरा तथा सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टसँग सम्पर्क देखिएको प्रहरी स्रोतको दाबी छ। यही सम्बन्धका आधारमा भट्टलाई नक्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा स्थानान्तरण गरिएको बताइएको छ।
यस प्रकरणमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक वंशी दाहालसमेत निलम्बनमा परिसकेका छन्। जबरा र उनीसँग जोडिएका व्यक्तिहरूबीच सम्पर्क तथा सूचना आदानप्रदान भएको विषयमा दाहालमाथि छानबिन अघि बढाइएको बताइएको छ।
सरकारनिकट स्रोतका अनुसार जबरासँग जोडिएका व्यक्ति, बिचौलिया तथा अन्य सम्भावित आर्थिक सम्बन्धबारे समेत अनुसन्धान विस्तार गरिने तयारी छ। जबराको सम्पत्ति तथा बैंक खातासम्बन्धी विवरणसमेत अनुसन्धानको दायरामा ल्याउने तयारी रहेको स्रोतको दाबी छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने छापाको विस्तृत विवरण र अनुसन्धानको निष्कर्षबारे औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन।
















प्रतिक्रिया