खजुरा । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा नवनियुक्त अस्पताल विकास समितिका अध्यक्ष तथा सदस्यहरुलाई अस्पताल प्रशासनका तर्फबाट स्वागत गरिएको छ । आज अस्पतालमा पुगेका नवनियुक्त अध्यक्ष भीमकान्त लामिछाने तथा विज्ञ सदस्य द्वय डा. मधु न्यौपाने र डा. संजय पाण्डेलाई अस्पताल प्रशासनको तर्फबाट स्वागत गरिएको हो ।
अध्यक्ष लामिछाने तथा सदस्य द्वय न्यौपाने र पाण्डेलाई अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. निरज भट्टराईले खादामाला लगाएर स्वागत गरे । स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष लामिछानेले क्यान्सर अस्पतालको विकास सम्बन्धमा आफुसँग अल्पकालिन र दिर्घकालिन कार्ययोजना रहेको उल्लेख गरे । उनले अस्पताल प्रशासनसँग समन्वय र सहकार्य गरेर नै कार्ययोजनाहरु कार्यान्वयन गरिने स्पष्ट पारे । उनले बिधिबिधानले मिले सम्म खजुरा क्यान्सर अस्पतालमा नर्सिङ कलेज संचालन गर्ने आफ्नो इच्छा रहेको उनले सुनाए ।
अस्पतालको तर्फबाट स्वागत गर्दै कार्यकारी निर्देशक डा. भट्टराईले अस्पतालको समग्र विकासमा अस्पताल प्रशासनबाट पूर्ण इमान्दारीताका साथ कार्यसम्पादन गरिएको जानकारी दिँदै विकास समितिको पूर्णतासँगै अस्पतालको प्रगतिमा अझै गति थपिने विश्वास व्यक्त गरे । उनले मन्त्रालयमा डीपीआर पठाइएको र थप भवनका लागि आश्वासन प्राप्त भएको उल्लेख गर्दै आन्तरिक ब्यवस्थापनलाई चुस्ता बनाइएको बताए । सिमित जनशक्तिको अधिकतम उपयोग गरेर अस्पतालको कार्यसम्पादन भइरहेको उनले जनाए । ओएनएम स्वीकृत लगायतका विषयमा नयाँ समितिबाट थप पहलकदमी हुनेमा आफु विश्वस्त रहेको पनि उनले बताए ।
नवनियुक्त विकास समिति सदस्य डा. मधु न्यौपानेले आफुहरुले केही गर्ने लक्ष्यका साथ मन्त्रालयमा लिखित योजना पेश गरेर प्रतिस्पर्धाबाट नियुक्त भएको उल्लेख गर्दै सबैको सहकार्यमा अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन आफु लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।
अस्पतालका संस्थापक अध्यक्ष किस्मत कक्षपतिले अस्पताल स्थापनाको इतिहास स्मरण गराउँदै क्यान्सर अस्पताल जनताले बनाएर सरकारलाई संचालन गर्न दिएको पहिलो अस्पताल भएको बताए ।
कार्यक्रममा अस्पताल विकास समितिका पूर्व अध्यक्षहरु टेकेन्द्र मल्ल र किस्मत कक्षपतिलाई सम्मान गरिएको थियो । नवनियुक्त अध्यक्ष लामिछानेले आजै आफ्नो पदभार ग्रहण गरेका छन् ।
















प्रतिक्रिया