काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
महानिरीक्षक कार्कीले आज भर्चुअल माध्याममार्फत प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै नजिकिँदै गरेका महान् चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना अवलम्बन गर्न र प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिएका हुन् ।
उनले चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाटलगायत आपराधिक गतिविधि नियन्त्रण गर्न उच्च सतर्कताका साथ काम गर्नुपर्ने बताए । प्रहरी महानिरीक्षक कार्कीले नागरिकका समस्या समयमै सम्बोधन गर्दै प्रहरी सेवा थप प्रभावकारी, व्यावसायिक, उत्तरदायी र जवाफदेही बनाउनुपर्नेमा जोड दिए ।
उनले आ–आफ्नो जिम्मेवारी क्षेत्रको सुरक्षा व्यवस्थापनका लागि आवश्यक योजना निर्माण गरी स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्नुपर्ने बताए । चाडपर्वका समयमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।
यस्तै, सीमानाकामा हुनसक्ने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण र फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्न उनले आग्रह गरे । अपराध नियन्त्रणका लागि सूचना सङ्कलन तथा विश्लेषणलाई प्रभावकारी बनाउँदै आवश्यकताअनुसार प्रहरी परिचालन गर्नुपर्ने उनको भनाइ थियो ।
प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई व्यावसायिक मर्यादा र अनुशासन पूर्ण रूपमा पालना गर्न तथा सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील हुन आग्रह गरे । गैरव्यावसायिक गतिविधिमा संलग्न प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याइने उनको भनाइ थियो ।
कार्यक्रममा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेलगायत वरिष्ठ प्रहरी अधिकारी तथा देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुख र प्रतिनिधिहरूको भर्चुअल उपस्थिति थियो ।
















प्रतिक्रिया