काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने घाइतेको संख्या ४६ पुगेको छ । भूकम्पका कारण सयौँ घरमा क्षति पुगेको छ ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार बिहीबार राति स्थानीय समयअनुसार १० बजेर ३३ मिनेटमा भूकम्प गएको थियो । सुरुमा ३२ जना घाइते भएको विवरण सार्वजनिक गरिएको थियो । पछिल्लो विवरणअनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ भने ३५ जना सामान्य घाइते भएका छन् ।
चीनको भूकम्प सञ्जाल केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराइमा गएको थियो। भूकम्पको केन्द्रबिन्दु बाकेन काउन्टीको मारु टाउनसिप क्षेत्रमा रहेको जनाइएको छ ।
भूकम्पका कारण ३३९ घरधुरीका घर भत्किएका वा क्षति पुगेका छन् भने २० वटा पशु राख्ने गोठमा पनि क्षति भएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ । स्थानीय प्रशासनले उद्धार टोली परिचालन गर्नुका साथै क्षतिको विवरण संकलन गरिरहेको छ ।
भूकम्पपछि ३ देखि ४ म्याग्निच्युडसम्मका परकम्पसमेत गएको जनाइएको छ । प्रभावित क्षेत्रमा विद्युत् तथा सञ्चार सेवामा अवरोध आएको र केही स्थानमा पहिरो तथा ढुंगा खस्ने समस्या देखिएको विवरण सार्वजनिक भएका छन् ।
समुद्री सतहबाट करिब ४ हजार ८०० मिटरभन्दा बढी उचाइमा रहेको यो क्षेत्र दुर्गम र कम जनघनत्व भएको हिमाली भूभागमा पर्छ । भूकम्पको केन्द्रबिन्दु तिब्बतको राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर टाढा रहेको छ ।
यो भूकम्प सन् २०२४ को जनवरीयता चीनमा गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको समाचारमा उल्लेख छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेकाले मानवीय र भौतिक क्षतिको विवरण थप परिवर्तन हुन सक्ने जनाइएको छ ।


















प्रतिक्रिया