काठमाडौं । नेपाली क्रिकेटको चर्चित फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उद्घाटन खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानले जनाएको छ । अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
गत संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले उपाधि जितेको थियो । यसपटक पनि उद्घाटन खेलमै यी दुई टोली आमनेसामने हुँदा प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
हेड टु हेडमा सुदूरपश्चिम अगाडि
उपलब्ध विवरणअनुसार लुम्बिनी र सुदूरपश्चिमबीच भएका पछिल्ला तीन खेलमध्ये दुई खेलमा सुदूरपश्चिम विजयी भएको छ भने एक खेल लुम्बिनीले जितेको छ । अघिल्लो संस्करणको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई हराएर उपाधि जितेको थियो । त्यसअघि लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको थियो । त्यसअघिको संस्करणको लिग चरणमा पनि सुदूरपश्चिमले लुम्बिनीमाथि ४५ रनको जित निकालेको थियो ।
पछिल्ला खेलको प्रदर्शनका आधारमा लुम्बिनीले लगातार पाँच खेलमा अपराजित रहँदै प्रतियोगितामा प्रवेश गरेको छ । अघिल्लो संस्करणको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले हराएको लुम्बिनीले इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई चार विकेटले पराजित गरेको थियो । लिग चरणमा जनकपुर बोल्ट्सलाई चार विकेट र विराटनगर किंग्सलाई पाँच विकेटले हराउँदै लुम्बिनीले आफ्नो लय कायम राखेको थियो ।
सुदूरपश्चिमले भने पछिल्ला पाँच खेलमध्ये तीनमा जित र दुईमा हार बेहोरेको विवरण छ । अघिल्लो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले पराजित गरेको सुदूरपश्चिम फाइनलमा भने लुम्बिनीसँग पराजित भएको थियो । लिग चरणमा चितवन राइनोजलाई ४९ रन र जनकपुर बोल्ट्सलाई ७२ रनले हराएको सुदूरपश्चिम विराटनगरसँग भने ६ विकेटले पराजित भएको थियो ।
रोहितको कप्तानीमा लुम्बिनी, दीपेन्द्रको नेतृत्वमा सुदूरपश्चिम
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्समा रुबेन ट्रम्पलम्यान, सन्दीप जोरा, डार्सी सर्ट, निरोशन डिक्वेला, शमिम हुसेन र शाड्ली भान शाल्कवाइकजस्ता खेलाडी छन् । घरेलु खेलाडीमा शेर मल्ल, आसिफ शेख, किशोर महतो, दिलीप नाथ, आकाश त्रिपाठी र अरनिको यादवसहितका खेलाडी टोलीमा छन् ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्समा स्कट कुगेलेइन, ब्रान्डन म्याकमुलेन, सैफ अली जैब, शेरफेन रदरफोर्ड र फेबियन एलेनजस्ता विदेशी खेलाडी छन् । नेपाली खेलाडीमा अविनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, हेमन्त धामी र हिक्मत महरालगायत छन् ।
अन्तर्राष्ट्रिय स्टार खेलाडीको आकर्षण
एनपीएलको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक मान्यता दिएको छ । यससँगै प्रतियोगिताका खेलमा बनेका रन र विकेट खेलाडीको आधिकारिक टी-२० करियर तथ्यांकमा समावेश हुनेछन् । यसले प्रतियोगिताको अन्तर्राष्ट्रिय महत्त्व बढाउनुका साथै विदेशी खेलाडीको सहभागितालाई थप आकर्षक बनाएको छ ।
यस संस्करणमा अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर काठमाडौं गोर्खाजबाट खेल्दैछन् । वेस्ट इन्डिजका आन्द्रे रसेल विराटनगर किंग्समा तथा बंगलादेशका अलराउन्डर सकिब अल हसन पोखरा एभेन्जर्समा आबद्ध छन् । इंग्ल्यान्डका मोइन अली र न्युजिल्यान्डका जेम्स निसम जनकपुर बोल्ट्समा छन् ।
दक्षिण अफ्रिकाका डेभिड मिलर कर्णाली याक्समा आबद्ध छन् । त्यसैगरी श्रीलंकाका एन्जेलो म्याथ्युज र चरिथ असलंकासहितका खेलाडी विराटनगर किंग्समा तथा सिकन्दर राजा चितवन राइनोजमा छन् । विदेशी स्टार खेलाडीको सहभागिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीसँग खेल्ने अवसर मिल्ने अपेक्षा गरिएको छ ।
विजेताले डेढ करोड रुपैयाँ पाउने
तेस्रो संस्करणमा क्यानले पुरस्कार राशि वृद्धि गरेको छ । प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ८० लाख रुपैयाँ पाउनेछ । तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
क्यानका अनुसार पुरस्कार राशि बढाउनुमा प्रतियोगिताको आम्दानी वृद्धि हुनु प्रमुख कारण हो । प्रतियोगिताले नेपाली क्रिकेटको व्यावसायिक विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्रिकेटको पहिचान विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
पहिलोपटक डीआरएस प्रयोग हुँदै
यस संस्करणको अर्को प्रमुख आकर्षण निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) हो । नेपाली क्रिकेटमा पहिलोपटक एनपीएलका खेलमा डीआरएस प्रयोग गरिनेछ । अम्पायरको निर्णयप्रति असहमति भएमा निर्धारित नियमअनुसार टोलीले पुनरावलोकन माग गर्न सक्नेछन् ।
एलबीडब्लूको निर्णयका लागि बलको दिशा र प्रक्षेपण देखाउने प्रविधि तथा ब्याटमा बल लागेको वा नलागेको जाँच गर्न एज डिटेक्सन प्रविधि प्रयोग गरिनेछ । रनआउट, स्टम्पिङ, फ्रन्टफुट नो-बल र वाइडका केही निर्णयमा पनि भिडियो पुनरावलोकनको सुविधा रहनेछ। प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा असफल रिभ्यु लिन पाउने व्यवस्था छ ।
आईसीसीको मान्यता, डीआरएस प्रविधि, विदेशी स्टार खेलाडीको सहभागिता र बढाइएको पुरस्कार राशिले एनपीएलको तेस्रो संस्करणलाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ । प्रतियोगिता नोभेम्बर २१ मा हुने फाइनलसँगै समापन हुनेछ ।

















प्रतिक्रिया