११ कार्तिक २०८३, बुधबार | October 28, 2026

चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह



काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले नेपालका विभिन्न प्रदेशमा भारी वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले सूचना जारी गर्दै कात्तिक १३ र १४ गते कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानअनुसार चक्रवात ‘अरनब’को प्रभाव शुक्रबारदेखि नेपालमा देखिन सक्ने अनुमान गरिएको छ । यसको प्रभाव कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत पर्ने सम्भावना रहेको छ ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।

सम्भावित विपद्बाट जोगिन उच्च पहाडी तथा हिमाली क्षेत्रमा अनावश्यक यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा स्थगित गर्न तथा नदी, खोला किनार र बाढीको जोखिम भएका क्षेत्रमा नबस्न प्राधिकरणले अनुरोध गरेको छ ।

प्राधिकरणले मौसम पूर्वानुमान तथा आधिकारिक पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गर्न र विपद्को जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान पनि आग्रह गरेको छ ।

आपत्कालीन अवस्थामा आवश्यक सहयोग लिन मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न सकिने प्रवक्ता केसीले जानकारी दिएका छन् ।

सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारण, यात्रु तथा हिमाली क्षेत्रमा जाने पर्यटकलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र सम्बन्धित निकायको निर्देशन पालना गर्न प्राधिकरणले आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ७ : २० बजे

भारतीय फूलको आयात रोक्न झापाका किसानको माग

झापा । व्यावसायिक फूलखेती गर्दै आएका झापाका किसानले भारतीय सयपत्री

मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको आग्रह

मुस्ताङ । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले यही कात्तिक १२

चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

दाङ । बंगालको खाडीमा विकसित ‘अर्नाव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका

भोजपुरमा धान थन्क्याउन कामदार अभाव, युवा पलायनले किसान मर्कामा

भोजपुर । गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी र सहरतर्फ पलायन

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके । वर्षायाममा बन्द गरिएको जङ्गल सफारी पुनः सञ्चालनमा आएसँगै