१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

समाचार कक्षमै प्रवेश गरेर पत्रकार नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको आपत्ति



काठमाडौं । सरकारी कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी सादा पोशाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ।

काउन्सिलले विज्ञप्ति जारी गर्दै पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमतिसमेत लिइएको नदेखिएको र अपराधसम्बन्धी जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर आपत्तिको विषय भएको जनाएको हो।

लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि शुक्रबार यसरी पत्रकारलाई नियन्त्रणमा लिइनुले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको काउन्सिलको भनाइ छ।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख छ।

‘सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा आचारसंहितासम्बन्धी उजुरी भएमा त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘समाचारकै विषयलाई लिएर सिधै प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियामार्फत समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ।’

काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न माग गरेको छ। कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए उनीहरूलाई तत्काल रिहा गर्नसमेत जोडदार आग्रह गरेको छ।

शुक्रबार नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी, नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन भन्दै सादा पोशाकका प्रहरी पत्रिकाको कार्यालयमै प्रवेश गरेका थिए। मैनालीलाई नलिई नफर्किने भन्दै प्रहरी टोली कार्यालयमै बसेको जनाइएको छ।

काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमलाई पनि समाचार सम्प्रेषण गर्दा सत्यतथ्यमा आधारित रहन र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ। प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको संवर्द्धनका लागि आफू प्रतिबद्ध रहेको काउन्सिलले स्पष्ट पारेको छ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ७ : ४७ बजे

पक्राउ परेका सबै पत्रकार रिहा : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए

मुस्ताङ । प्रतिकूल मौसमका कारण नेपाल–चीन सीमाको कोरला नाका क्षेत्रमा

चौतर्फी विरोधपछि गिरफ्तार पत्रकारलाई रिहा गर्न सरकार बाध्य, विश्वमणि सुवेदी रिहा

काठमाडौं । नेपाल प्रेसको समाचार कक्षबाटै पक्राउ परेका पत्रकार विश्वमणि

पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा