१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

पत्रकारमाथिको धरपकड रास्वपाको नीति र सिद्धान्तविपरीत : प्रवक्ता खरेल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, समाचार कक्षमा प्रवेश गरेर धरपकड गर्ने वा सोधपुछका नाममा दबाब दिने कार्य पार्टीको नीति र सिद्धान्तविपरीत रहेको बताएका छन्।

उनले यस्तो कार्य नेपालको संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको समेत विपरीत हुने स्पष्ट पारेका छन्।

खरेलले नेपालको संविधानले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै रास्वपा त्यसको पक्षमा स्पष्ट रहेको बताए।

उनले भने, ‘पत्रकारलाई कुनै पनि बहानामा समाचारकै आधारमा पक्राउ गर्नु हाम्रो पार्टीको नीति र सिद्धान्तमा छैन। नेपालको संविधानले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको छ। पार्टी त्यसको स्पष्ट पक्षमा छ।’

समाचार लेखेकै विषयलाई लिएर सञ्चारमाध्यमको समाचार कक्षमा प्रवेश गरी धरपकड गर्ने, दबाब दिने वा पत्रकारलाई पक्राउ गर्ने कार्य पार्टीको आधिकारिक नीतिविपरीत रहेको उनको भनाइ छ।

यद्यपि, पछिल्लो समय पत्रकार पक्राउ तथा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुगेका घटनाबारे पार्टीले वास्तविकता बुझिरहेको खरेलले बताए। सम्बन्धित घटनाको पृष्ठभूमि, पक्राउको कारण र प्रहरीको कारबाहीबारे सबै तथ्य नबुझी निष्कर्षमा पुग्न नसकिने उनको भनाइ छ।

‘सम्बन्धित घटनामा किन लगियो, कसरी धरपकड गरियो र के कारणले गरियो भन्ने कुराहरू सञ्चारमाध्यममा आएका आधारमा मात्रै सबै कुरा भन्न सकिँदैन,’ उनले भने।

खरेलका अनुसार घटनाबारे आवश्यक जानकारी लिएर पार्टीभित्र छलफल गरेपछि आधिकारिक धारणा सार्वजनिक गरिनेछ। तर, समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने वा समाचारकै विषयमा धरपकड गर्ने कार्य संविधान, प्रेस स्वतन्त्रता र पार्टीको सिद्धान्तविपरीत रहेको विषयमा रास्वपा स्पष्ट रहेको उनले दोहोर्‍याए।

यसअघि शुक्रबार प्रहरीले विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा अन्य पत्रकारलाई पक्राउ गर्न समाचार कक्षमै पुगेको थियो।

नेपाल प्रेसमा कार्यरत विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका अध्यक्ष एवं प्रधानसम्पादक शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन भन्दै सादा पोशाकका प्रहरी पत्रिकाको कार्यालयमै पुगेका थिए। प्रहरीले पक्राउ पुर्जी नदेखाई मैनालीलाई खोजिरहेको र उनलाई नलिई नफर्किने भन्दै समाचार कक्षमै बसेको नयाँ पत्रिकाले जनाएको छ।

दियोपोस्टसहितका अन्य सञ्चारमाध्यमका कार्यालयमा समेत प्रहरी पुगेको विवरण सार्वजनिक भएका छन्।

पत्रकारमाथि भएको धरपकडप्रति प्रेस काउन्सिल नेपालले पनि आपत्ति जनाउँदै पक्राउको कानुनी आधार सार्वजनिक गर्न र कानुनी आधारबिना नियन्त्रणमा राखिएका पत्रकारलाई तत्काल रिहा गर्न माग गरेको छ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ८ : ०२ बजे

पक्राउ परेका सबै पत्रकार रिहा : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए

मुस्ताङ । प्रतिकूल मौसमका कारण नेपाल–चीन सीमाको कोरला नाका क्षेत्रमा

चौतर्फी विरोधपछि गिरफ्तार पत्रकारलाई रिहा गर्न सरकार बाध्य, विश्वमणि सुवेदी रिहा

काठमाडौं । नेपाल प्रेसको समाचार कक्षबाटै पक्राउ परेका पत्रकार विश्वमणि

पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा