नेपालगन्ज । नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको अभाव देखिएको छ ।
खेलकुद पूर्वाधारलाई खेलाडी उत्पादनको श्रोत मानिएपनि यसबाट खेलाडी उत्पादन हुन नसक्दा खेलाडी अभावमा पूर्वाधारको संरक्षण हुन नसकेको हो ।
पौडी खेलका एसिएन अफिसियल दामोदर अर्यालले नेपालगन्जमा रहेको खेलकुद पूर्वाधारले गिज्जाइरहेको उल्लेख गर्दै अपनत्वका कारण आर्थिक अभावले पूर्वाधारको संरक्षण हुन नसकेको बताए ।
उनले नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधारको विकास आठौं राष्ट्रिय खेलकुदमा भएको जानकारी दिँदै पूर्वाधारले खेलाडी खोजीरहेको उल्लेख गरे ।
अर्यालले भने, “आर्थिक अभावका कारण त्यहाँ रहेको पौडी पोखरी तीन वर्षअघिदेखि स्विमिङ क्लवको पहलले इज्जत जोगारहेको छ”
सो रङ्गशालामा रहेको एक मात्र पौडी पोखरीको सरसफाइमा मात्रै करिव दुई लाखदेखि तीन लाखसम्म अतिरिक्त खर्च भएको छ । नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशव न्यौपानेले नियमित खेल हुने पौडी पोखरीमा नियमित सरसफाइ नभएकाले पोखरी सफा गर्न सो रकम खर्च भएको जानकारी दिए ।
नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा कात्तिक १४ र १५ गते नेपालगन्ज रङ्गशालामा हुने तेस्रो नेपालगन्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसिपका लागि पोखरी सफाइ तथा आन्तरिक व्यवस्थापनको काम पूरा भएको उनले बताए ।
मध्यपश्चिम खेलकुद विकास समितिका प्रमुख महेश चन्दले रङ्गशालाको आन्तरिक स्रोत परिचालनबाट सक्दो काम भइरहेको उल्लेख गर्दै सङ्घीयता लागुभएपछि बजेट आउन कठिनाई भएको बताए ।
स्वीमिङ क्लबका महासचिव कृष्ण अधिकारीले पौडी प्रतियोगिताका लागि सबै तयारी पुरा भएको उल्लेख गर्दै भारत, नेपालका गरी २०० खेलाडीले नाम दर्ता गरेको जानकारी दिए ।
प्रतियोगितामा यसपटक स्वदेशी खेलाडीसँगै भारतीय खेलाडीको सहभागिताले प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । यसले नयाँ प्रतिभादेखि अनुभवी खेलाडीसम्मलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिने आयोजकको जनाएका छन् ।
क्लबका अनुसार अण्डर आठदेखि अण्डर १७ तथा ओपन अर्थात १७ वर्षभन्दा बढी उमेरका खेलाडीले फ्रि स्टाइल, बेष्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाइ, रिले र व्यक्तिगत मेड्ले गरि ६ छुट्टाछुट्टै बिधाका ८० वटा इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । क्लबले पहिलो र दोस्रो संस्करण सम्पन्न गरिसकेको छ ।
















प्रतिक्रिया