१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो



काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै इलाममा आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

२५औँ सत्याग्रहमा रहेका केसीलाई सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो। उनको त्रिवि शिक्षण अस्पतालमा उपचार हुने केसीको सचिवालयले जनाएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई आइतबार इलाम जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा उनको रगतमा ग्लुकोजको मात्रा निकै कम भएको, पिसाबमा एसिटोनको मात्रा बढेको र रक्तचापसमेत घट्दै गएको पाइएको चिकित्सकहरूले बताएका छन्।

लामो समयदेखि खानपान नगरेका कारण स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि चिकित्सकहरूले उनलाई सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएका थिए।

इलाम अस्पतालका कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा. महेश आचार्यका अनुसार केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको र थप जोखिम हुन सक्ने देखिएपछि निरन्तर निगरानी तथा उपचारका लागि उच्चस्तरीय स्वास्थ्य संस्थामा प्रेषण गर्न सिफारिस गरिएको हो।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै आएका डा. केसीले गत कात्तिक १३ गतेदेखि इलामको नारायण मन्दिरमा २५औँ सत्याग्रह सुरु गरेका थिए।

पूर्वाधार र पर्याप्त जनशक्तिबिना स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा चिकित्सा शिक्षा अध्यापनको अनुमति दिइएको भन्दै उनले विरोध जनाउँदै आएका छन्। स्वार्थको द्वन्द्व देखिने निर्णयहरू खारेज गर्नुपर्ने उनको प्रमुख माग छ।

चिकित्सा शिक्षा आयोगले यस वर्ष एमबीबीएस अध्ययनका लागि कुल ११० सिट थप गर्ने निर्णय गरेको थियो। सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५० तथा नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० सिट वृद्धि गर्ने निर्णय गरिएको थियो।

विशेषगरी नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप गरिएको सिट तत्काल फिर्ता गर्नुपर्ने डा। केसीको माग छ। आवश्यक पूर्वाधार र जनशक्तिको सुनिश्चितताबिना विद्यार्थी भर्ना क्षमता बढाउँदा चिकित्सा शिक्षाको गुणस्तर प्रभावित हुने उनको जिकिर छ।

सरकारले आफ्ना माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै उनले सत्याग्रहलाई निरन्तरता दिएका थिए। यसैबीच स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो।

चिकित्सा शिक्षा सुधार, गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा हुने अनियमितता अन्त्यको माग राख्दै डा। केसीले विगतमा पनि पटक–पटक सत्याग्रह गर्दै आएका छन्।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  १० : २० बजे

सुन तोलामा २३ सय र चाँदी ७० रुपैयाँले बढ्यो

काठमाडौं। नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको भाउ बढेको

धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित

एक महिनाभित्र सबै स्थानीय तहबाट जग्गासम्बन्धी सेवा सञ्चालन गर्ने प्रधानमन्त्री शाहको घोषणा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जग्गासम्बन्धी प्रशासनिक सेवा अब स्थानीय

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको उद्धार

डोल्पा । भारी हिमपातका कारण डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८ स्थित दानीगढमा

मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफल भइरहेको छ : प्रचण्ड

महोत्तरी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल