खजुरा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेका पूर्व केन्द्रीय सल्लाहकार तथा लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य बाबुराम गौतमको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् ।
गौतमको १३औँ दिनको पुण्यतिथिमा नेकपा एमाले बाँके जिल्ला कमिटीले सोमबार आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले गौतमलाई सादगीपूर्ण जीवनशैली, निष्ठापूर्ण राजनीतिक यात्रा र जनतामाझ लोकप्रिय व्यक्तित्वका रूपमा स्मरण गरे । मुख्यमन्त्री आचार्यले बाँके जिल्ला पार्टीले एक सच्चा, इमानदार र कर्तव्यनिष्ठ अभिभावक गुमाएको उल्लेख गर्दै गौतमले अघि सारेका विचार र सिद्धान्तलाई आत्मसात् गर्दै अधुरा काम पूरा गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले गौतमप्रति सच्चा श्रद्धाञ्जली व्यक्त गर्ने माध्यम उनका विचार, सिद्धान्त र योगदानलाई व्यवहारमा निरन्तरता दिनु भएको बताए ।
प्रदेश सभामा पाँच वर्षसम्म गौतमसँग सहकार्य गर्ने अवसर पाएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले उनलाई नजिकबाट चिन्ने र सिक्ने अवसर प्राप्त भएको बताए । गौतमले आफूलाई सधैँ अभिभावकको रूपमा मार्गदर्शन गरेको उल्लेख गर्दै उनले राजनीतिक जीवन, संघर्ष र समाजप्रतिको समर्पणबाट धेरै कुरा सिक्न सकिने बताए ।
गौतममा लुम्बिनी प्रदेश र विशेषगरी बाँके जिल्लाको विकासप्रति गहिरो चिन्ता र चासो रहेको मुख्यमन्त्री आचार्यले स्मरण गरे । संगठन निर्माण, विकास निर्माण तथा सामाजिक कार्यलाई अघि बढाउन अतुलनीय भूमिका निर्वाह गरेको भन्दै मुख्यमन्त्री आचार्यले उनले देखाएको मार्गलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
गुल्मीको थोर्गामा जन्मिएर बाँकेलाई कर्मथलो बनाएका गौतमले राजनीतिक तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदान सधैँ स्मरणीय रहने मुख्यमन्त्री आचार्यको भनाइ थियो । उनले दिवंगत गौतमप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूमा समवेदना व्यक्त गरे ।
नेकपा एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा स्व. गौतमकै निवासमा सम्पन्न सभामा पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
















प्रतिक्रिया