काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले न्यायाधीश र बिचौलिया इनम सापकोटासँग जोडिएर सार्वजनिक भएका विषयमा निष्पक्ष तथा स्वतन्त्र छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले समसामयिक घटनाक्रम र सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारबारे छलफल गर्दै पाँचबुँदे निर्णय गरेको हो।
सर्वोच्च अदालतका न्यायाधीश र बिचौलियासँगको भेटघाट तथा सम्बन्धबारे सार्वजनिक भएका समाचारका विषयमा बैठकमा छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार डा। अशोककुमार क्षेत्रीले जानकारी दिएका छन्।
पूर्ण बैठकले संविधानको सर्वोच्चता र कानुनको शासनप्रति आफ्नो अटल आस्था तथा प्रतिबद्धता रहेको स्पष्ट पार्दै यसप्रति गम्भीर हुन सबैलाई आग्रह गरेको छ।
त्यस्तै, सार्वजनिक भएका विषयमा कुनै पूर्वाग्रह नराखी संविधान र कानुनबमोजिम निष्पक्ष एवं स्वतन्त्र ढंगले छानबिन गर्न र सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा हुने कानुनी छानबिन र अनुसन्धानमा आवश्यक जवाफदेहिता निर्वाह गर्न तथा सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको पनि सर्वोच्चको पूर्ण बैठकले जनाएको छ।
बैठकले न्यायपालिका जनताको आस्था र विश्वासमा अडिने संस्था भएकाले यससँग सम्बन्धित समाचार प्रकाशन तथा प्रसारण गर्दा आम नागरिक र सेवाग्राहीमा भ्रम तथा नकारात्मक असर नपर्ने विषयमा ध्यान दिन सञ्चारमाध्यमलगायत सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
छानबिनको निष्कर्ष नआउँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि बैठकले अनुरोध गरेको छ।
त्यस्तै, सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई नियमित रूपमा न्यायिक कार्यमा क्रियाशील रहन देशभरका सबै अदालतमा कार्यरत न्यायाधीश तथा कर्मचारीलाई आग्रह गरिएको छ।
सर्वोच्च अदालतले सार्वजनिक भएका विषयमा निष्पक्ष छानबिनको आवश्यकता औंल्याउँदै न्यायपालिकाको संस्थागत गरिमा, जनआस्था र कानुनी प्रक्रियाको सम्मान कायम राख्नुपर्नेमा जोड दिएको छ।

















प्रतिक्रिया