काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ।
काठमाडौं बाहिर रहेका शिवाकोटीलाई फोन सम्पर्क गरी साइबर ब्युरोमा उपस्थित हुन भनिएको कांग्रेस मिडिया सेन्टरले जनाएको छ।
साइबर ब्युरोको बोलावटपछि शिवाकोटीले आफू ब्युरोमा उपस्थित हुने बताएका छन्। आफूलाई प्रहरी लगाएर खोज्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले काठमाडौं फर्किरहेको बताएका हुन्।
बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै शिवाकोटीले लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदै छु।’
पछिल्लो समय सरकारले विधि र विधान मिचेर काम गरिरहेको तथा नेपाली कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको आरोप लगाउँदै शिवाकोटीले सामाजिक सञ्जालमार्फत निरन्तर प्रतिक्रिया दिँदै आएका छन्।
उनले प्रहरी हिरासतमा रहेका बिचौलिया भनिएका इनम सापकोटाले प्रहरीलाई दिएको भनिएको बयानको अडियो रेकर्डका विषयमा समेत टिप्पणी गरेका थिए।
सरकारले भय र भ्रम सिर्जना गरेर सत्ता सञ्चालन गर्न खोजेको भन्दै शिवाकोटीले आफू यस्ता गतिविधिबाट विचलित नहुने संकेत गरेका छन्। साइबर ब्युरोले बोलाएपछि काठमाडौं फर्किएर उपस्थित हुने उनको भनाइ छ।
















प्रतिक्रिया