२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

हिम्मत छ भने पहिले आफूमाथि उठेका प्रश्नको जवाफ देऊ : प्रदीप पौडेल



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गिरफ्तारीको हल्ला चलाएर राजनीतिक प्रश्न र आफूमाथि उठेका गम्भीर सवालहरू दबाउन नसकिने बताएका छन्।

पार्टी सभापतिविरुद्ध गिरफ्तारीको चर्चा चलिरहेका बेला सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले पहिले आफूमाथि उठेका प्रश्नहरूको जवाफ दिन सत्तापक्षलाई चुनौती दिएका हुन्।

पौडेलले निष्पक्ष अनुसन्धानको माग गर्दै तथ्य, प्रमाण र सत्य सार्वजनिक हुनुपर्ने बताएका छन्। अनुसन्धानको विषयलाई राजनीतिक प्रतिशोधको हतियार बनाउन खोजिएको आरोप लगाउँदै उनले गिरफ्तारीको हल्लाले प्रश्न दबाउन नसकिने उल्लेख गरेका छन्।

उनले आफ्नो स्टाटसमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनमाथि गम्भीर प्रश्न उठाएका छन्। इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षण हुनुअघि दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा किन राखियो भन्ने उनको मुख्य प्रश्न छ।

उक्त अवधिमा मोबाइलबाट ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग भएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको र केही सन्देश मेटिएको भन्ने विषयमा उठेका प्रश्नहरूको जवाफ कसले दिने भन्दै पौडेलले प्रश्न गरेका छन्।

प्रहरीले बरामद गरेको मोबाइल अनुसन्धान गर्ने प्रहरीकै नियन्त्रणमा हुनुपर्नेमा अनुसन्धानको महत्त्वपूर्ण डिजिटल प्रमाण प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा कसरी पुग्यो भन्ने विषयमा उनले कानुनी आधार र निर्देशनबारे समेत स्पष्ट पार्नुपर्ने बताएका छन्।

त्यस्तै, प्रधानमन्त्री र उनको सचिवालयको सम्बन्ध ती बिचौलियासँग के थियो, उनलाई लामो समयसम्म कसले संरक्षण गर्‍यो र कसको पहुँच तथा प्रभावमा उनी काम गरिरहेका थिए भन्ने प्रश्न पनि पौडेलले उठाएका छन्।

उनले मुलुकी अपराध संहिता, २०७४ का दफा ९२ र ९३ लगायत प्रमाण नष्ट गर्ने, कसुरदारलाई जोगाउने तथा अनुसन्धान प्रभावित पार्ने कार्यसँग सम्बन्धित कानुनी व्यवस्थाबारे कानुनी सल्लाहकारहरूसँग स्पष्ट हुन सत्तापक्षलाई सुझाव दिएका छन्। अनुसन्धानमा रहेको डिजिटल प्रमाण अनधिकृत व्यक्तिको नियन्त्रणमा पुग्नु र त्यसमा छेडछाड भएको आशंका उठ्नु गम्भीर विषय भएको उनको भनाइ छ।

पौडेलले आफूमाथि उठेका प्रश्नबाट ध्यान मोड्न अरूमाथि राजनीतिक आक्रमण गर्न खोजिएको आरोपसमेत लगाएका छन्। अनुसन्धानका क्रममा बरामद मोबाइलको नियन्त्रण, डिजिटल सामग्रीमा सम्भावित छेडछाड र बिचौलियासँगको सम्बन्धबारे जवाफ दिनुपर्ने पक्षले उल्टै अरूमाथि प्रश्न उठाएको उनको टिप्पणी छ।

ुनिष्पक्ष अनुसन्धान हुने हो भने जवाफदेही हुनुपर्ने गगन थापा हो कि कुमार बेन रुु भन्दै उनले यस प्रकरणमा वास्तविक रूपमा अनुसन्धानको दायरामा को आउनुपर्ने हो भन्ने प्रश्न गरेका छन्।

राज्यका संस्था कसैको व्यक्तिगत प्रतिशोध पूरा गर्ने औजार बन्न नहुने उल्लेख गर्दै पौडेलले सत्ता, सरकार, प्रहरी र प्रशासनमाथि प्रभाव भए पनि कानुन कसैको निजी सम्पत्ति नभएको बताएका छन्।

उनले आफूहरू निष्पक्ष अनुसन्धानको पक्षमा रहेको स्पष्ट पार्दै दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने बताएका छन्। यस प्रकरणमा दूधको दूध, पानीको पानी नभएसम्म आफूहरू पछि नहट्ने उनको भनाइ छ।

‘गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन। सत्ताको आडले सत्य लुक्दैन। हिम्मत छ भने पहिले आफूमाथि उठेका प्रश्नहरूको जवाफ देऊ’, पौडेलले आफ्नो स्टाटसको अन्त्यमा लेखेका छन्।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ३ : ०९ बजे

चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

बाजुरा । उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक

ट्र्याक्टरले ठक्कर दिँदा नवलपुरमा प्रहरी जवानको मृत्यु

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले

हिम्मत छ भने पहिले आफूमाथि उठेका प्रश्नको जवाफ देऊ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गिरफ्तारीको हल्ला चलाएर

बुटवलमा ६ करोड लगानीको ड्याडिज केक प्रिमियम बेकरी सञ्चालन

बुटवल । नेपाली बेकरी तथा खाद्य उद्योगमा गुणस्तर, आधुनिक प्रविधि

सामाजिक र राष्ट्रिय एकता बलियो बनाउन रास्वपा सभापति लामिछानेले गरे कामना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक