२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा



बागलुङ । तिहारमा मादल, खैँजडी र बाँसुरीको तालमा गुञ्जिने देउसीभैलोमा आधुनिक गीतसङ्गीत र प्रविधिको प्रभाव बढ्दै गएको छ । परम्परागत लोकभाका, बाजागाजा र सामूहिक नाचगानको स्थान आधुनिक गीत र साउण्ड सिस्टमले लिन थालेपछि देउसीभैलोको मौलिकता हराउँदै गएको छ ।

तिहार सुरु भएसँगै बागलुङ बजारका चोक तथा बस्तीमा देउसीभैलोको चहलपहल बढेको छ । यस वर्ष शनिबारदेखि नै देउसीभैलो खेल्न थालिएको बजारमा ठूला साउण्ड सिस्टममा आधुनिक गीत बजाएर नाच्ने क्रम बढेको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म देउसीभैलोमा सहभागी भएर रमाइरहेका छन् । तर, बजारमा देखिएको चहलपहलमा परम्परागत देउसीभैलोको शैली भने कमै देखिन्छ ।

कुनै समय मादल, बाँसुरी र खैँजडीको तालमा सोरठी, मारुनी, कौरा, यानीमाया, सुनिमाया र झ्याउरे भाकामा देउसीभैलो खेल्ने चलन थियो । गीतमार्फत गाउँघरका सुखदुःख, सामाजिक अवस्था र जनजीवनका कथाव्यथा प्रस्तुत गरिन्थ्यो । अहिले यस्ता मौलिक भाका र नाच क्रमशः हराउँदै गएका छन् । रेकर्ड गरिएका आधुनिक गीतमा नाच्ने र ठूलो आवाजमा सङ्गीत बजाउने प्रवृत्ति बढ्दा देउसीभैलोको परम्परागत शैली सङ्कटमा परेको छ ।

स्थानीय प्रेम श्रेष्ठले पछिल्लो समय देउसीभैलोको मौलिकतामा ठूलो परिवर्तन आएको बताए । पश्चिमा संस्कृतिको प्रभाव र नयाँ पुस्ताले मौलिक कला तथा संस्कृतिको संरक्षणमा पर्याप्त चासो नदिँदा परम्परागत देउसीभैलोको पहिचान कमजोर बन्दै गएको उनको भनाइ छ । “पहिले मादल, बाँसुरी र खैँजडी बजाएर गीतमार्फत कथा, व्यथा र सामाजिक सन्देश सुनाइन्थ्यो । अहिले देउसीभैलोमा आधुनिकता र विकृति मिसिँदै गएको छ”, श्रेष्ठले भने ।

बागलुङ बजारका रबीप्रसाद शर्माले आधुनिक प्रविधिको विकास र देखासिकीका कारण देउसीभैलोको मौलिकता हराउँदै गएको बताए । तिहार र देउसीभैलो नेपाली समाजको सांस्कृतिक पहिचान भएकाले यसको मौलिक स्वरूप जोगाउनुपर्ने उनको भनाइ छ । युवा पुस्ताले परम्परागत गीत, सङ्गीत र नाचप्रति चासो नदेखाउँदा आधुनिक तथा पश्चिमा शैली हाबी हुँदै गएको उनले बताए ।

यद्यपि, सबै देउसीभैलो टोली आधुनिक शैलीमा मात्र सीमित छैनन् । केही समूहले पूराना भाका र संस्कृतिलाई निरन्तरता दिने प्रयास पनि गरिरहेका छन् । भकुण्डे टोल समूहले पाका पुस्ताबाट मौलिक गीत र नाच सिकेर नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले परम्परागत शैलीमा देउसीभैलो खेल्दै आएको छ ।

देउसीभैलो मनोरञ्जन र दक्षिणा सङ्कलन गर्ने माध्यम मात्र नभई नेपाली समाजको कला, संस्कृति, भाषा र सामूहिक एकताको अभिव्यक्ति पनि हो । समयअनुसार यसको शैलीमा परिवर्तन आउनु स्वाभाविक भए पनि मौलिक बाजा, भाका र नाचको संरक्षण हुन नसके तिहारसँग जोडिएको सांस्कृतिक पहिचान नै कमजोर बत्रे चिन्ता बढेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ७ : ४७ बजे

नेपाल संवत् र म्हः पूजाले मौलिक पहिचान जोगाउँछन् : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना),

एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम भिड्दै, दुवै टोलीलाई जितको दबाब

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर

देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा

बागलुङ । तिहारमा मादल, खैँजडी र बाँसुरीको तालमा गुञ्जिने देउसीभैलोमा

सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन् : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार, नेपाल संवत् र

नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल संवत् नेपाली सभ्यताको