काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत शुक्रबार हुने खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा जनकपुरका कप्तान हर्मित सिंहले जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । उनले चितवनलाई फिल्डिङको निम्तो दिएका छन् ।
दुवै टोली जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रँदैछन् ।
जनकपुर चार अंकसहित अंक तालिकाको छैटौँ स्थानमा छ । टोलीले ६ खेल खेल्दा दुई जित र चार हार बेहोरेको छ । लिग चरणको अन्तिम खेल खेल्न लागेको जनकपुरलाई प्लेअफको सम्भावना कायम राख्न जित्नैपर्ने दबाब छ ।
यता, चितवन पाँच अंकसहित पाँचौँ स्थानमा छ । पाँच खेल खेलेको चितवनले दुई जित र दुई हार बेहोरेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।
यी दुई टोलीबीचको खेल शुक्रबार साँझ ५ बजे सुरु हुनेछ ।
















प्रतिक्रिया