काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५.५ किलोग्राम सेतो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महाराष्ट्रस्थित पुने निवासी ५२ वर्षीय रेवराज तिघारे रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार गत कात्तिक २८ गते थाइल्यान्डबाट नेपाल आएका तिघारेलाई शंकास्पद गतिविधिका आधारमा निगरानी तथा प्रोफाइलिङ गर्ने क्रममा विमानस्थलबाट पक्राउ गरिएको हो ।
प्रहरीले उनको लगेज जाँच गर्ने क्रममा खरायो र बिरालोको खानाका प्याकेटभित्र लुकाएर राखिएको ५.५ किलोग्राम सेतो हेरोइन बरामद गरेको थियो । बरामद लागुऔषधको अन्तर्राष्ट्रिय बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको ब्युरोले जनाएको छ ।
लागुऔषध नियन्त्रण ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार पक्राउ परेका तिघारे यसअघि पनि दुईपटक लाओसबाट नेपाल आएको पाइएको छ । पहिलोपटक हवाईमार्ग हुँदै नेपाल आएका उनी दोस्रोपटक भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेको अनुसन्धानबाट खुलेको छ ।
उनले लाओसका अतिरिक्त जिम्बाबे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियालगायतका देशको भ्रमण गरेको पनि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी अन्तर्राष्ट्रिय लागुऔषध कारोबारको सञ्जालसँग जोडिएको हुन सक्ने देखिएको छ ।
उनको साथबाट मेकानिकल इन्जिनियरिङको प्रमाणपत्रसमेत बरामद भएको छ । बरामद हेरोइन भारत पुर्याउने उद्देश्यले नेपाल ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीहरूले बताएका छन् ।
घटनाबारे लागुऔषध नियन्त्रण ब्युरोले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
















प्रतिक्रिया