भक्तपुर । गृहमन्त्री सुधन गुरुङकी आमा भएको दाबी गर्दै एक महिलाको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा कलाकार सर्विन बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई मंगलबार अपराह्न भक्तपुरको सूर्यविनायकबाट पक्राउ गरिएको हो ।
परिवारजनका अनुसार आफूहरू इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिङ्कका कर्मचारी भएको बताउँदै घरमा पुगेका सादा पोसाकका दुई प्रहरीले बोगटीलाई नियन्त्रणमा लिएर गएका थिए । उनलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।
व्यक्तिगत गोपनीयतासम्बन्धी कसुरमा बोगटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पुष्टि गरेका छन् । यद्यपि, उनले घटनाबारे थप विवरण खुलाएका छैनन् ।
बोगटीलाई नियन्त्रणमा लिएपछि अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको बताइएको छ ।
जनसांस्कृतिककर्मीसमेत रहेका बोगटी कालिकोटका स्थायी बासिन्दा हुन् । उनी लामो समयदेखि परिवारसहित भक्तपुरको सूर्यविनायकमा बस्दै आएका छन् । पूर्वजनमुक्ति सेनासमेत रहेका उनी पछिल्लो समय गायक तथा संगीतकारका रूपमा परिचित छन् ।
बोगटीले गत आइतबार आफ्नो फेसबुक पेजमा एक महिलाको भिडियो पोस्ट गर्दै उनलाई गृहमन्त्री सुधन गुरुङकी आमा भनेर उल्लेख गरेका थिए ।
















प्रतिक्रिया