२ मंसिर २०८३, बुधबार | November 18, 2026

प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै



काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको छ ।

शाह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मङ्सिर ६ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाँदैछन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी मन्त्रालयले तीव्र रूपमा गरिरहेको जानकारी दिए । “विषयगत रूपमा आन्तरिक तयारी तीव्र पारिएको छ, भ्रमणका विषयमा विस्तृत जानकारी मन्त्रालयले छिट्टै सार्वजनिक गर्नेछ”, प्रवक्ता क्षेत्रीले भने ।

भ्रमणका क्रममा दुई देशबीच कनेक्टिभिटी विस्तारमा जोड दिइनेछ । साथै विकास सहायता, पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध थप सुदृढ बनाउनेलगायत विषयमा छलफल हुने जनाइएको छ ।

भ्रमणमा हवाई कनेक्टिभिटी विस्तार, नेपाललाई थप हवाई प्रवेश बिन्दु उपलब्ध गराउने, रेलवे तथा सडक सञ्जाल विस्तार र ऊर्जा क्षेत्रको पूर्वाधार विकासका एजेन्डा प्राथमिकतामा रहने बुझिएको छ ।

रेलवे कनेक्टिभिटीअन्तर्गत जनकपुर–अयोध्या रेलवेको शुभारम्भ, जयनगर–जनकपुर रेलसेवालाई बर्दिबाससम्म विस्तार गर्ने, रक्सौल–काठमाडौँ रेलमार्गको सम्भावना तथा अन्य रेलवे सम्पर्क विस्तारका विषयमा सहमति हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, सडक तथा पुल निर्माण, एकीकृत जाँच चौकी (आइसीपी) निर्माण र विद्युत् प्रसारण लाइन विस्तारका विषय पनि छलफलको एजेन्डामा रहनेछन् ।

विपद्पछिको पुनर्निर्माणमा भारतीय सहयोग तथा विकास निर्माणका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा पनि भ्रमणका क्रममा छलफल हुनेछ । विशेषगरी भारतीय सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरूको समीक्षा, सम्पन्न भएका आयोजनाको उद्घाटन र हस्तान्तरण तथा निर्माणाधीन आयोजनालाई शीघ्र सम्पन्न गर्ने विषयमा छलफल हुने बताइएको छ ।

त्यसैगरी, केही नयाँ विकास आयोजना सुरु गर्ने विषयले पनि भ्रमणका क्रममा प्राथमिकता पाउने अपेक्षा गरिएको छ । भारतीय सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाको निर्माणलाई तीव्रता दिने र नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानजस्ता सम्पन्न आयोजनाको उद्घाटन तथा हस्तान्तरणको विषय पनि सम्भावित एजेन्डाको सूचीमा रहेको बुझिएको छ ।

भ्रमणका अवसरमा दुई देशबीचको पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत छलफल हुनेछ । दुई देशबीच नागरिकस्तरमा सम्बन्ध विस्तार, सीमापार भुक्तानी प्रणालीलाई थप सहज र प्रभावकारी बनाउने विषय पनि छलफलमा समेटिने सम्भावना छ ।

प्रधानमन्त्री शाहको भ्रमणको तयारीकै सिलसिलामा भारतका विदेशसचिव विक्रम मिश्रीले गत कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमण गर्नुभएको थियो । सो अवसरमा उहाँले प्रधानमन्त्री शाह र केही मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

साथै भ्रमणको पूर्वसन्ध्यामा दुवै देशले रिक्त रहेका आ–आफ्ना राजदूत नियुक्त गरिसकेका छन् भने नवनियुक्त राजदूतहरूले पनि आफ्नो स्तरमा भ्रमणको तयारी थालिसकेका सम्बन्धित दूतावासले जनाएका छन् ।

प्रधानमन्त्री शाहले गत चैत १३ गते आफ्नो जिम्मेवारी सम्हालेपछि गत असोज ६ गते संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन पहिलोपटक विदेश भ्रमण गर्नुभएको थियो ।

त्यस्तै उहाँको आसन्न भारत भ्रमण प्रधानमन्त्री भएपछि छिमेकी मुलुकको पहिलो औपचारिक भ्रमण हुनेछ ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ११ : ४३ बजे

Your email address will not be published.

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ

काठमाडौ । महानगरपालिका–४ नख्खु दोबाटो चोकबाट स्रोत नखुलेको नगद रु

सुनचाँदीको मूल्य घट्यो

काठमाडौ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ

गुल्मीमा प्रहरी निरीक्षक पर्वतकुमार केसी मृत फेला

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको

राष्ट्रपतिद्वारा फास्ट ट्रयाकको सबैभन्दा लामो महादेवटार सुरुङको ब्रेक थ्रु

काठमाडौं । काठमाडौं–तराईरमधेस द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत निर्माणाधीन सबैभन्दा लामो