२ मंसिर २०८३, बुधबार | November 18, 2026

तीन आयोजनाको ठेक्का सम्झौता अन्ततः तोडियो



तीन आयोजनाको ठेक्का सम्झौता अन्ततः तोडियो ।
बाँके । अलपत्र आयोजनाको ठेक्का सम्झौता अन्ततः तोडिएको छ । तोकिएको समयभित्र निर्माण तथा मर्मत सम्पन्न गर्न नसकेका आयोजनाको सम्झौता रद्द गरिएको छ ।

सडक डिभिजन कार्यालय नेपालगन्जमार्फत सञ्चालित रत्न राजमागअन्तर्गत जमुनाहादेखि पन्ध्रेखोलासम्मको सडकखण्डको मर्मत कार्य, बर्दियाको औरही नदी पुलको पहुँचमार्ग सुधार आयोजना र ठाकुरबाबास्थित ओम आदर्श विद्यालयदेखि भद्दी जोड्ने सडक सुधार आयोजनाको ठेक्का तोडिएको कार्यालयका प्रमुख नरेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

पटकपटक म्याद थप गर्दासमेत काम अघि बढ्न नसकेपछि ठेक्का तोड्ने निर्णय गरिएको हो । रत्न राजमार्गको उक्त खण्डको मर्मतकार्य गत वर्ष नै सम्पन्न गर्नुपर्ने थियो ।

त्यसैगरी, औरही नदी पुलको पहुँचमार्ग सुधार र ओम आदर्श विद्यालयदेखि भद्दी जोड्ने सडक सुधार आयोजना आर्थिक वर्ष २०८१÷८२ भित्र सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयभित्र काम पूरा हुन सकेन ।

पटकपटक म्याद थप गर्दासमेत निर्माणकार्यले गति लिन नसकेपछि भौतिक पूर्वाधार मन्त्रालयको निर्देशनमा उक्त आयोजनाको ठेक्का सम्झौता तोडिएको हो ।

प्रगतिको सम्भावना नरहेका रुग्ण आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रियामार्फत निर्माणकार्य अघि बढाउन मन्त्रालयबाट आवश्यक निर्देशन आएकाले अब रुग्ण आयोजनालाई निरन्तरता दिनुको सट्टा नयाँ प्रक्रियाबाट काम अघि बढाउने तयारी भएको छ ।

सडक डिभिजन कार्यालय नेपालगन्जअन्तर्गत नयाँ प्रक्रियाबाट बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको भट्टले बताए ।

सडक डिभिजन कार्यालय नेपालगन्ज र भरतपुर–३, चितवनस्थित एमआर एन्ड ग्रुपबीच गत कात्तिक १६ गते पुल निर्माणसम्बन्धी सम्झौता भएको कार्यालयका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर भट्टले जानकारी दिए ।

सम्झौताअनुसार निर्माण कम्पनीले ४२ महिनाभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ । रु ६७ करोड ४५ लाख ६९ हजार १५० लागतमा निर्माण हुने दुई लेनको पुल ४२० मिटर लामो र ११ मिटर चौडा हुनेछ । निर्माण व्यवसायीले सम्झौताको नौ महिनाभित्र माटो परीक्षण प्रतिवेदन र पुलको डिजाइन स्वीकृत गराउनुपर्नेछ ।

सडक डिभिजन कार्यालय नेपालगन्जले २०८३ साल असारमा पुल निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । ठेक्का प्रक्रियामा चार निर्माण व्यवसायीले प्रतिस्पर्धा गरेकामा प्राविधिक तथा आर्थिक प्रस्तावको मूल्याङ्कनपछि एमआर एन्ड ग्रुप छनोट भएको कार्यालयले जनाएको छ ।

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जब्दीघाटको पुरानो पुल हस्तान्तरण नहुँदै २०७२ सालको बाढीले भासिएको थियो । पुल भासिएपछि ठूला सवारीसाधनको आवागमन बन्द भए पनि पैदलयात्री, मोटरसाइकल र अटोरिक्साजस्ता साना सवारीसाधन सञ्चालन हुँदै आएका थिए ।

विसं २०७९ को बाढीले पुलका चारवटा मुख्य पिलर जोड्ने तीनवटा स्ल्याब बगाएपछि भने आवागमन पूर्ण रूपमा बन्द भएको भट्टले बताए ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  १२ : ३६ बजे

Your email address will not be published.

तीन आयोजनाको ठेक्का सम्झौता अन्ततः तोडियो

तीन आयोजनाको ठेक्का सम्झौता अन्ततः तोडियो ।बाँके । अलपत्र आयोजनाको

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ

काठमाडौ । महानगरपालिका–४ नख्खु दोबाटो चोकबाट स्रोत नखुलेको नगद रु

सुनचाँदीको मूल्य घट्यो

काठमाडौ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ

गुल्मीमा प्रहरी निरीक्षक पर्वतकुमार केसी मृत फेला

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको