काठमाडौं । पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने योजनाअन्तर्गत कपिलवस्तुको गोरुसिंगे–चन्द्रौटा सडक खण्ड विस्तारका लागि ठेक्का सम्झौता सम्पन्न भएको छ।
पूर्वाधारमन्त्री सुनिल लम्सालका अनुसार करिब ४ अर्ब ५६ करोड रुपैयाँ लागतमा निर्माण हुने उक्त आयोजना २ वर्ष ५ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको हो।
कुल १९.२ किलोमिटर लामो यो सडक खण्ड सर्भिस लेनसहित ६ लेनमा विस्तार गरिनेछ। सडक विस्तारसँगै यात्रु तथा सवारीसाधनको आवागमन सहज बनाउने र सडक सुरक्षालाई थप व्यवस्थित गर्ने उद्देश्य राखिएको छ।
आयोजनाअन्तर्गत दुईवटा ठूला पुल, ६ वटा साना पुल र ७२ वटा कल्भर्ट निर्माण गरिनेछन्। त्यसैगरी पैदलयात्रीका लागि दुईवटा अन्डरपास, सवारीसाधनका लागि एउटा अन्डरपास र एउटा आकाशे पुल निर्माण गर्ने योजना छ।
सडक विस्तारका क्रममा वन्यजन्तुको सुरक्षित आवागमनलाई ध्यानमा राख्दै वन्यजन्तुमैत्री संरचनासमेत निर्माण गरिने मन्त्री लम्सालले जानकारी दिएका छन्।
पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गतको यो आयोजना सम्पन्न भएपछि गोरुसिंगे–चन्द्रौटा खण्डको सडक क्षमता विस्तार हुनुका साथै यातायात व्यवस्थापन, सडक सुरक्षा र क्षेत्रीय आवागमनमा सुधार आउने अपेक्षा गरिएको छ।
















प्रतिक्रिया