५ मंसिर २०८३, शनिबार | November 21, 2026

प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जाँदै



काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जाँदैछन् । शाह प्रधानमन्त्री भइसकेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणमा जान लागेका हुन् । उनी आइतबार मध्याह्न १ः४५ बजे नेपाल वायुसेवाको नियमित उडानबाट भारत प्रस्थान गर्नेछन् ।

उनको भ्रमण टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्ययवसायी र पत्रकारलगायत ३४ सदस्यीय टोली रहेको छ । प्रधानमन्त्रीको भारत भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा सहभागी हुनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रोपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । साथै उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग यही मङ्सिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन तथा नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।

साथै भ्रमणका क्रममा सहकार्यका विविध क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानव संसाधन विकासजस्ता विषयहरू समेटिएका विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिनेछन् । यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुनेछ ।

भ्रमणको पहिलो दिन आइतबार प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाह सोमबार नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

भ्रमणका क्रममा नेपाल–भारत बिजनेश फोरमको छलफल कार्यक्रम आयोजना गरिनेछ । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गरिने र व्यवसायी समुदायका चासो तथा सरोकारहरू सुन्ने र नेपाल सरकारकोतर्फबाट भारतबाट थप लगानी आकर्षित गर्न अवलम्बन गरिएका नीतिगत दृष्टिकोण तथा प्रयासहरू प्रस्तुत गरिनेछ । यो कार्यक्रम नेपाली र भारतीय व्यवसायी बीच सहकार्य गर्ने सेतु पनि बन्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सम्पन्न गरी यही मङ्सिर ७ गते साँझ १८ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ८ : ३२ बजे

Your email address will not be published.

सुदूरपश्चिम रोयल्स एनपिएल च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम रोयल्स तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपिएल)

प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जाँदै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

काठमाडौँ । स्तन क्यान्सरको समयमै पहिचान र उपचार गर्न सके

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा एक व्यक्तिले बन्चरो

एनपीएल फाइनल : टस जितेर सुदूरपश्चिमले रोज्यो बलिङ, लुम्बिनीले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका