सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा आजदेखि सुरु हुँदैछन् । प्रतियोगिताअन्तर्गत पुरुष फुटबलका खेलबाट प्रतिस्पर्धा सुरु हुन लागेको हो ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालका अनुसार आज दिउँसो १ बजे वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा पुरुष फुटबल प्रतियोगिता सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लब र आयोजक कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद्ले खेलाडी तथा सहभागी टोलीको आवास व्यवस्थापनलगायतका चुनौतीलाई मध्यनजर गर्दै केही खेल निर्धारित मितिभन्दा अगाडि नै सञ्चालन गर्ने निर्णय गरेपछि औपचारिक उद्घाटनअघि नै प्रतिस्पर्धा सुरु हुन लागेको हो ।
प्रतियोगिताको औपचारिक उद्घाटन भने मंसिर १६ गते हुनेछ । मंसिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न खेल विधामा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
यसअघि सोमबार कर्णाली प्रदेशले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई औपचारिक रूपमा स्वागत गरेको थियो । बाजागाजा, खेलाडी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा सुर्खेतमा बृहत् र्याली निकालेर प्रतियोगिताको स्वागत गरिएको थियो ।
कर्णाली प्रदेशले पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताले प्रदेशको खेलकुद विकाससँगै खेल पर्यटन र स्थानीय गतिविधिलाई समेत गति दिने अपेक्षा गरिएको छ ।
















प्रतिक्रिया