काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाली सेयर बजारमा वृद्धि देखिएको छ । सोमबार सामान्य अंकले बढेको बजारले मंगलबार पनि सकारात्मक गति कायम राखेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले बढेर २ हजार ६३८.९५ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स ३.८६ अंक, फ्लोट इन्डेक्स १.२५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.५३ अंकले बढेको छ ।
मंगलबार कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचकमा वृद्धि भएको छ । बैंकिङ उपसमूह १.२४ प्रतिशत र विकास बैंक उपसमूह १ प्रतिशतले बढेका छन् ।
नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । सोमबार ३ अर्ब ८२ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा मंगलबार ५ अर्ब ५५ करोड ३० लाख १९ हजार रुपैयाँबराबरको कारोबार भएको छ । यस दिन १ करोड ४६ लाख ७० हजार कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कारोबार रकमका आधारमा सोल्टी होटल कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ३२ करोड १७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकको करिब ३१ करोड रुपैयाँ र लक्ष्मी सनराइज बैंकको करिब २३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।
यस दिन एभरेष्ट कलरको सेयरमूल्य सर्वाधिक ५.०५ प्रतिशतले बढेको छ । अन्य कम्पनीको सेयरमूल्य वृद्धिदर भने साढे ३ प्रतिशतभन्दा कम रहेको छ ।
















प्रतिक्रिया