बुटवल । नेपाली मौलिक कला, संस्कृति र खानाका परिकारको प्रवर्द्धन गर्दै पर्यटन विकास, स्थानीय उत्पादनको बजारीकरण र रोजगारी सिर्जना गर्ने उद्देश्यले बुटवलमा पाँचदिने सडक खाना महोत्सव आयोजना हुने भएको छ ।
होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवल-११ देवीनगरस्थित खुला मैदानमा मंसिर ११ देखि १५ गतेसम्म ‘बुटवल खाना महोत्सव-२०८३’ सञ्चालन हुन लागेको हो ।
महोत्सवमा यस क्षेत्रका होटल तथा रेस्टुरेन्ट व्यवसायीले विभिन्न जातजातिका मौलिक खानाका परिकारको प्रदर्शनी तथा बिक्री वितरण गर्नेछन् । साथै राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा विभिन्न प्रकृतिका ५० वटा स्टल रहनेछन् । तीमध्ये थारू जातिका तीन, नेवारी परिकारका चार, मगर समुदायका चार, नगर क्षेत्रका चार, क्लब तथा समूहका छ र विभिन्न रेस्टुरेन्ट, पार्टी प्यालेस, क्याफे तथा विद्यालय-कलेजका स्टल रहनेछन् ।
आयोजकका अनुसार महोत्सव सञ्चालनका लागि अस्थायी संरचना, टेन्ट, विद्युत्, खानेपानी, शौचालय, सरसफाइ, सुरक्षा तथा सांस्कृतिक कार्यक्रमलगायत व्यवस्थापनमा करिब ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सव अवधिभर करिब दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र एक करोड ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।
महोत्सवका मूल आयोजक समितिका संयोजक माधवकुमार खनालले नेपाली मौलिक खानाका परिकारको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र पर्यटन विकासलाई एकसाथ अघि बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । उनका अनुसार यसपटक विगतका महोत्सवभन्दा फरक स्थान र समयको व्यवस्थापन गरिएको छ ।
यसअघि बुटवलमा २०७५ सालदेखि सडक खाना महोत्सव आयोजना हुँदै आएको छ । संघले २०७६, २०७९, २०८० र २०८२ सालमा पनि महोत्सव आयोजना गरेको थियो । यसअघि बुटवलको हिलपार्क उद्यान परिसर र सिद्धेश्वरी लालकुमारी माध्यमिक विद्यालयको खेलमैदानमा समेत महोत्सव सञ्चालन गरिएको थियो ।
विगतका वर्षमा सडकमा महोत्सव सञ्चालन गर्दा ट्राफिक व्यवस्थापन, सरसफाइ, खानेपानी, शौचालय तथा स्थानीयवासीको गुनासोलगायत समस्या देखिएकाले यसपटक खुला मञ्चमा आयोजना गर्न लागिएको संघले जनाएको छ । खुला मञ्चमा आयोजना गर्दा व्यवसायी, स्थानीयवासी र सडक प्रयोगकर्तालाई समेत सहज हुने आयोजकको विश्वास छ ।
महोत्सवमा सहभागी स्टल सञ्चालकलाई खाद्य स्वच्छता तथा व्यावसायिक आचारसंहितासम्बन्धी अभिमुखीकरण गरिनेछ । स्टल सहभागीलाई न्यूनतम दरमा उपलब्ध गराइने र दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । दर्शकको सुविधाका लागि घुम्ती तथा अस्थायी शौचालयको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
त्यस्तै, महोत्सवस्थलमा सीसीटीभी जडान, सेक्युरिटी कम्पनीमार्फत सुरक्षा, संघको आन्तरिक सुरक्षा टोली र नेपाल प्रहरीको सहयोगमा सुरक्षा व्यवस्था मिलाइनेछ । महोत्सव पाँच दिनसम्म दिउँसो ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ ।
महोत्सवको प्रचारप्रसारका लागि उद्घाटनकै दिन मंसिर ११ गते शुक्रबार दिउँसो २:३० बजे संघको सचिवालय बुटवल-९ बाट विभिन्न जातजातिको सांस्कृतिक पहिचान झल्किने झाँकीसहितको र्याली निकालिनेछ । र्यालीको समापनपछि दिउँसो ४ बजे बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयबाट महोत्सवको समुद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
महोत्सवलाई सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न ३५ वटा विषयगत उपसमिति गठन गरिएको छ । महोत्सवको संरक्षक बुटवल उपमहानगरपालिका रहेको छ भने प्रवर्द्धकका रूपमा वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्यटन विकास परिषद्, लुम्बिनी प्रदेश रहेको छ । एक्सटिम इनर्जी ड्रिंक्स मुख्य प्रायोजक रहेको महोत्सवलाई विभिन्न लिकर कम्पनीले समेत सहयोग गर्ने आयोजकले जनाएको छ ।
होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले पर्यटन तथा व्यवसाय प्रवर्द्धनका साथै नेपाली मौलिक कला, संस्कृति र खानाका परिकारको संरक्षण तथा प्रचारप्रसारमा महोत्सवले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ ।
















प्रतिक्रिया