काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी, एमएस र एमडिएस उत्तीर्ण ८३८ जना विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरूमा खटाएको छ ।
मन्त्रालयको यो निर्णयसँगै अब विशेषज्ञ स्वास्थ्य उपचारका लागि काठमाडौँ तथा देशका ठुला सहर धाउनुपर्ने नागरिकको बाध्यता क्रमशः घट्दै जाने अपेक्षा गरिएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार खटाइएका चिकित्सकहरूमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा २०८ जना रहेका छन् । यस्तै, कोशी प्रदेशमा १५४, लुम्बिनीमा १३३ र गण्डकी प्रदेशमा १२९ जना विशेषज्ञ चिकित्सक खटाइएका छन् । त्यसैगरी मधेस प्रदेशमा ८६, सुदूरपश्चिममा ७६ र कर्णाली प्रदेशमा ५२ जना चिकित्सक परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।
खटाइएका कुल चिकित्सकमध्ये ५११ जनालाई प्रदेश स्वास्थ्य मन्त्रालय मातहत रहने गरी र बाँकी ३२७ जनालाई सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा खटाइएको छ । सङ्घीय सरकारबाट प्रदेशमा खटाइएका यी चिकित्सकहरूलाई प्रदेश सरकारले आफ्नो आवश्यकता, प्राथमिकता र कार्यक्षेत्रअनुसार स्थानीय तहका स्वास्थ्य संस्थाहरूमा समेत परिचालन गरी सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन सक्ने व्यवस्था मिलाइएको छ ।
विशेषज्ञ चिकित्सकहरूको परिचालनसँगै एनेस्थेसिया, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी, हाडजोर्नी, मेडिसिन, आकस्मिक सेवा, आँखा, बाल रोग, दन्त तथा मानसिक स्वास्थ्यलगायतका सेवाहरू सुदृढ हुनेछन् । यसबाट ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकले आफ्नै प्रदेशमा सुरक्षित सुत्केरी सेवा, जटिल शल्यक्रिया तथा गुणस्तरीय आकस्मिक उपचार पाउने विश्वास लिइएको छ ।
















प्रतिक्रिया