१७ भदौ, पाल्पा । सिद्धार्थ राजमार्ग बुटवल-पाल्पा सडक खण्ड पुन: अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत बुटवल-पाल्पा सडकखण्डको हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन पुन: अवरुद्ध भएको हो ।
निरन्तरको वर्षाका कारण बुटवल पाल्पा खण्डको केराबारी नजिक सडक भासिएपछि गएराति पौने १० बजेबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो । डाइभर्सन निर्माण सकिएलगत्तै गएराति दुई ठाउँमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरुपमा ठप्प भएको छ । सडक बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन् ।
भासिएको सडक निर्माण नभएको र डाइभर्सन बनाइएको सडकसमेत हिलाम्य भएकाले ग्राभेल नगर्दासम्म सवारी साधन पास गर्न सकिने अवस्था नरहेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले जानकारी दिए ।
अहिले निरन्तर पानी परेकाले पानी रोकिएपछि मात्रै सवारी साधन सन्चालन गर्ने गरी काम गरिने उनले बताए । सडक सुचारु नहुँदासम्म अन्य वैकल्पिक सडकहरुको प्रयोग गर्न सडक डिभिजन कार्यालय पाल्पाले आग्रह गरेको छ ।


















प्रतिक्रिया