२७ श्रावण २०८३, बुधबार | August 13, 2026

भारतीय ग्राहकले धानेको ऐतिहासिक ब्रह्मदेव बजार



वेदकोट । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करिब १२ किलोमिटर उत्तरपश्चिम दूरी पार गरेपछि ब्रह्मदेव पुगिन्छ ।

महाकाली नदी छेउमै रहेको ब्रह्मदेवमा सडकको दायाँबायाँ लहरै साना पक्की र केही अस्थायी प्रकृतिका घर देखिन्छन् । त्यसमा कोहीले होटल थापेका छन्, त कोहीले लत्ताकपडा, खाद्यान्न, किराना, मिठाइ तथा फलफूलको पसल ।

भीमदत्त नगरपालिका-९ स्थित ब्रह्मदेव भारतसँग जोडिएको पुरानो नेपाली बजार हो । बजारमा भेटिने अधिकांश नागरिक भारतका हुन्छन् । यसलाई भारतीय ग्राहक भित्र्याउने बजारका रूपमा पनि चिनिन्छ ।

सदरमुकाम महेन्द्रनगर हुनुअघिसम्म ब्रह्मदेवबाट भारतसँग कारोबार हुने तथा सुदूरपश्चिमका पहाडी क्षेत्रका लागि नुन, तेल, खाद्यान्नलगायतका सामान आपूर्ति हुने गरेको बूढापाका बताउँछन् ।

किसान नेता भीमदत्त पन्तले नुन कब्जा गरेर सर्वसाधारणलाई बाँडेको ठाउँलगायत लामो इतिहास बोकेको ब्रह्मदेव बजार भारतीय ग्राहकमा निर्भर छ । “अधिकांश ग्राहक भारतकै हुन्छन्, लत्ताकपडा तथा चाइनिज समान किनमेल गर्नका भारतीय नागरिक आउँछन्”, ब्रह्मदेवका व्यवसायी गोपालसिंह धामीले भने, “भारतीय ग्राहक नआएमा हाम्रो व्यापार नै हुँदैन ।”

प्रत्येक वर्ष फागुपूर्णिमादेखि असार पूर्णिमा र दशैँमा भारतको प्रसिद्ध तीर्थस्थल पूर्णागिरिमा नवरात्रि मेला लाग्ने हुनाले यो समयमा ब्रह्मदेव बजारमा चहलपहल बढी हुने गरेको छ ।

‘मौसमी बजार’ को उपमा समेत पाएको ब्रह्मदेव बजारका व्यापारीले अन्य समयमा भने ग्राहकको बाटो ढुकेर बस्नुपर्ने बाध्यता रहेको बताउँछन् । “नेपाली गाउँ खल्ला-मसेट्टी-टुँडीखेल र ब्रह्मदेवका ग्राहक पनि आउँछन् तर यहाँका धेरैजसो किनमेल गर्नका लागि महेन्द्रनगर र टनकपुरतिर जाने गर्छन्”, व्यापारी दत्तराज पनेरुले भने, “भारतीय ग्राहक नआउँदा हाम्रो व्यापार नै हुँदैन, यहाँको व्यवसाय भारतीय उपभोक्ताले धानेका छन् ।”

यस वर्ष पूर्णागिरीमा लागेको नवरात्र मेला भएसँगै ब्रह्मदेव बजारमा नजिकै रहेको सिद्धनाथ मन्दिर दर्शन गर्ने भारतीय दर्शनार्थीको चहलपहल बढेको छ । पूर्णागिरि मेलाको दर्शन गरेका भारतको उत्तराखण्ड र उत्तरप्रदेशका दर्शनार्थीको ब्रह्मदेव र महेन्द्रनगरस्थित सिद्धनाथ मन्दिरको दर्शन गरेपछि मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।

ब्रह्मदेवको सिद्धनाथ मन्दिर दर्शन गर्नका लागि अहिले दैनिक १० हजारभन्दा बढी भारतीय दर्शनार्थी आइरहेका छन् । मेला भर्न आउने भारतीय दर्शनार्थीले जुत्ता, चप्पल, टर्च, छाता, खेलौना, क्रिम, भिक्स, बामल र तयारी कपडा रुचाउने गरेका छन् ।

“भारतीय उपभोक्तालाई लक्षित गरेर राखिएको बजार हो, मेला अवधिमा व्यवसाय राम्रै चल्छ”, ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव पन्तले भने, “नवरात्र मेलाले अहिले भारतीय तीर्थालुको चहलपहल बढेको छ, व्यापार राम्रै भइरहेको छ ।” अहिले एक सय ५० भन्दाबढी मानिस ब्रह्मदेव बजारमा व्यवसाय गर्दै आएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ७ : ४८ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको