१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँके-३ का खजुराबासी भन्छन् – ‘४ वर्ष देखि अलपत्र सडक जस्ले बनाउँछ, उसैलाई भोट दिईन्छ’



खजुरा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन नजिकै आईरहेका बेला राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारहरुले बिभिन्न आश्वासनहरु बोकेर घरघरमा पुगेपनि बाँकेको खजुराका स्थानीयबासीले भने बिगत ३ वर्ष देखि अलपत्र पारिएको सडक र नेपालगन्ज गुलरिया सडकको पोँरी पुल बनाउने ग्यारेन्टी गर्ने उम्मेदवारलाई मात्र मत दिने बताएका छन् । घरदैलोमा आउने हरेक उम्मेदवारलाई खजुराबासीको एउटै प्रश्न हुने गरेको छ – ‘२०७४ सालमा ठेक्का सम्झौता भएको बाँकेको खजुरा खण्डको १८ सय मिटर सडक किन बनेन ?’

खजुराका स्थानीय व्यवसायी धनप्रसाद ढकालले दलहरुकै अकर्मन्यताका कारण ४ वर्ष देखि मुल सडकको कन्तबिजोग भएको बताउँछन् । नेताहरुको ठेकेदारसँगको मिलोमतोका कारण समयमा सडक नबनेको ढकालको आरोप छ । ‘यो चुनावमा सडक निर्माण र पेँडारी पुल निर्माणलाई जस्ले मुल एजेण्डा बनाउँछ खजुराको मत त्यतै जान्छ ।’ ढकालले भने ।

२०७४ सालमा ठेक्का सम्झौता भएको बाँके क्षेत्र नम्बर ३ अन्तर्गत नेपालगन्ज-गुलरिया मुल सडक खजुरा बजार क्षेत्रको १८ सय मिटर फोर लेन कालोपत्रे सहित सडक बन्नु त कता हो कता ठेकेदार कम्पनीले खनेर ध्वस्त बनाएर छाडेको छ । सडक अलपत्र पारेर छाडिएकै कारण खजुराबासी सहित बाँके बर्दिया दिनुहुँ यात्रा गर्ने यात्रीहरुले सास्ती खेप्न बाध्य छन् ।

२०७४ चैत्रमा सम्झौता भएको सो सडकको बर्दियाको गुलरियामा २२ सय मिटर र बाँकेको खजुरामा १८ सय मिटर फोर लेन सडक २०७७ चैत्र मसान्त सम्म सम्पन्न गर्नु पर्ने थियो । बाँकेको खजुरा बजारको बिचभागमा एकतर्फी ड्रेन बनाएर वर्षौदेखि अलपत्र पारिदिँदा बजार क्षेत्र नै दुर्गन्धित बन्न पुगेको छ ।

खजुराकै गृहिणी तथा रेष्टेरेन्ट व्यवसायी हिरा गुरुङ सडक र पुल अलपत्र परेकोमा आक्रोशित छिन् । नेताहरुले बेवास्ता गरेकै कारण सडक अलपत्र परेको उनको ठहर छ । गुरुङलाई चुनाव पछि पनि सडक बन्ने विश्वास छैन । चुनावमा मत माग्न बनाउँछु भनेपनि चुनाव पछि नेताहरुले बिर्सने उनको आरोप छ । सडकको अवस्था देख्दा भोट खसाल्न जान मन पनि नलागेको उनले बताईन् ।

सडक डिभिजन कार्यालय नेपालगन्जले अनुगमन र निरिक्षण गर्ने गरि ३० करोड ३६ लाख लागत अनुमान गरिएको बर्दिया र बाँकेको गरि ४ किलोमिटर सडकलाई २१ करोड ४९ लाखमा ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवाले ठेक्का कबुल गरेको थियो । सम्झौता अनुसार सडक बिचमा ग्रीन डिभाईडर र सडकको दुबै किनारमा नाली बनाउनु पर्ने थियो । तर ठेकेदार कम्पनीले खजुराको मुख्य बजारको बिचभाग सम्म नाली बनाएर काम रोकेपछि बजार क्षेत्र नै दुर्गन्धित बनेको छ ।

स्थानीयबासी चुनावमा एमालेबाट संघीय निर्वाचनमा उम्मेदवार बनेका खजुरा गाँउपालिकाका निवर्तमान अध्यक्ष किस्मत कुमार कक्षपतिले तदारुकता नदेखाएका कारण सडक समयमा बन्न नसकेको बताउँछन् । स्थानीय नागरिक अगुवा समेत रहेका धनप्रसाद ढकालले सत्ताको बागडोर एमालेकै हातमा रहेका बेला पनि सडक बनाउन पहल नगरिएको बताउँछन् ।

खजुराकै अर्का समाजिक अभियन्ता खजुरा खानेपानीका निवर्तमान अध्यक्ष दीपक ढकालको मत पनि खजुराको सडक र पुलको एजेण्डा भएको उम्मेदवारलाई जाने ढकाल बताउँछन् । ‘दलको आवद्धता आफ्नै ठाँउमा छ, आस्था पनि छ, तर जनतालाई विकास चाहिएको छ, जस्ले पहिलो प्राथमिकतामा खजुराको सडक र पुललाई राख्छ, खजुराबासीको मत त्यतै जान्छ ।’ ढकालले भने । उनी माओवादी केन्द्रका स्थानीय नेता पनि हुन् ।

लामो समयदेखि म्याद सकिएको भएपनि ठेकेदार कम्पनीको न त म्याद थपिएको छ न त ठेक्का खारेजीको प्रक्रिया नै थालिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बहाल रहेकै अवस्थामा नेपालगन्ज गुलरिया सडक बिस्तार योजनाको शिलान्यास गर्दै अघिल्लो महिना तत्कालिन मन्त्री मोहम्मद इश्तियाक राईले २४ घण्टा भि ठेकेदारलाई पत्र काटेर कारवाही गर्न निर्देशन दिएका थिए । तर निर्देशन दिएको महिना दिन पुरा भइसक्दा पनि कुनै कारवाही भएको खबर प्राप्त भएको छैन । मन्त्रीको निर्देशन लगत्तै ७२ घण्टे पत्र काटेको र तुरुन्त काम गर्ने लिखित प्रतिबद्धता गरेको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख निरज शाक्यले बताए । सडककै पहलमा केही निर्माण समाग्री कार्यस्थलमा खसेको, तर लगातार वर्षा भएकाले दशैं अगाडि काम हुन नसकेको शाक्यले बताए ।

डीभीएसटी प्रविधिको कालोपत्रे गरिने सडकमा पहिलो लियर्स नै बनाएको १ सातामा उक्पिएर खाल्डो परिसकेको छ । अघिल्लो वर्षको असोज मसान्त सम्म काम सम्पन्न नगरे जरिवाना गर्ने घोषणा गरेको सडक डिभिजनले एक वर्ष पछिको असोज मसान्त नजिकै आउँदा पनि जरिवानाका विषयमा भने कुनै कारवाही गरेको छैन ।

सडक अलपत्र परेपछि सडकमा रहेका साना साना ढुंगा उडेर कतिपय सडक यात्रुहरु घाइते भएका छन् भने सडक किनारका पसल र घरहरुमा क्षेति पुग्ने गरेको छ । स्थानीय युवा अमुल्यमान कर्माचार्यले अहिले सम्म साना दुर्घटना मात्र भएको र कुनैपनि बेला सम्बेदनशिल स्थानमा ढुंगा लागेर ठुलो दुर्घटना हुन सक्ने बताउँछन् ।

बाँके क्षेत्र नम्बर ३ मा एमालेबाट किस्मत कुमार कक्षपति र सत्ता गठबन्धनबाट किशोर सिंह राठौर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ९ : १६ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा