५ पुस २०८२, शनिबार | December 20, 2025

जेलका साथीले यसरी सम्झिए राष्ट्रपति पौडेललाई



गण्डकी । पञ्चायत विरुद्ध जनमत बढाउन नेपाली कांग्रेसले देशव्यापी अभियान चलाएको थियो । धवलागिरि क्षेत्रमा अभियानको नेतृत्व नेता रामचन्द्र पौडेलले सम्हालेका थिए । पार्टी सङ्गठन विस्तारको जिम्मा पनि उनलाई थियो ।

पार्टी सुदृढीकरणको भूमिगत अभियान लिएर पौडेल बागलुङ र पर्वतका गाउँगाउँ पुगेका थिए । विसं २०४६ को आन्दोलन उत्कर्षमा पुग्नुअघि पौडेल त्यही क्षेत्रमा खटिएका थिए । उनीसँगै अभियानमा सारथी थिए बागलुङका गोविन्द्रप्रसाद शर्मा कँडेल, पर्वतका अर्जुनप्रसाद जोशीलगायत ।

पार्टी कामकै सिलसिलामा पर्वत फलेवासका डिल्लीराज शर्माको घरमा पुगेका बेला पौडेल, कँडेलसहितका नेता पक्राउ परे । उनीहरूलाई पवर्तबाट प्रहरीले बागलुङ कारागार पु¥यायो । राज्य विप्लवको अभियोगमा मुद्दा लगाइयो । बाहिर बहुदल प्राप्तिको आन्दोलन चर्किंदै थियो । पौडेललगायत नेताहरू जेलमा थिए ।

“त्यतिबेला रामचन्द्र पौडेलजी र म सँगै आठ महिना बागलुङ जेलमा बस्यौँ, जेलमा अरु साथीहरू पनि थिए”, पूर्वसांसद कँडेलले विगत सम्झिए, “हामी जेलभित्रै रहेका बेला जनआन्दोलन सफल भयो, बहुदल घोषणा भयो, त्यसपछि हामी रिहा भयौँ ।”

यसरी सँगसँगै जेलजीवन बिताएका पौडेल राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च पदमा निर्वाचित हुँदा कँडेल पनि खुसीले गद्गद् छन । “रामचन्द्रजी राष्ट्रपतिमा चुनिएको खबरले औधी खुसी भएँ, पूराना दिनहरू सम्झिएँ”, कँडेलले भने, “राष्ट्रपतिका लागि उहाँ सुयोग्य पात्र हुनुहुन्छ, उहाँमा चरित्रवान् व्यक्तित्व छ ।”

मुलुकको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि त्याग, तपस्या गरेको व्यक्तित्वले राष्ट्राध्यक्षको भूमिका पाउनु सबैका लागि गर्वको विषय रहेको उनले बताए । नवनिर्वाचित राष्ट्रपतिले संविधानतः साझा र निष्पक्ष भूमिका खेलेर राष्ट्रलाई अभिभावकत्व दिनेमा कँडेलले विश्वास व्यक्त गरे ।

जन्मस्थल तनहुँ भए पनि नवनिर्वाचित राष्ट्रपति पौडेलले भेटका क्रममा आफ्नो कर्मथलो बागलुङ हो भनेर सुनाउने गरेको कँडेलको भनाइ छ । बागलुङसँग नवनिर्वाचित पौडेलको नजिकको साइनो रहेको उनले बताए । पछिल्लो सयम पनि जिल्लामा हुने पार्टी गतिविधिमा पौडेल पुगिरहन्थे ।

“राजनीतिक जीवनमा उहाँले बागलुङ, पर्वत, म्याग्दीलगायत ठाउँमा लामो समय बिताउनुभयो, यहीँबाट जेल पनि पर्नुभयो, उहाँ त्यसबेला निकै सक्रिय हुनुहुन्थ्यो”, कँडेलले भने, “परिवर्तनका सोच भएको, वैचारिकरूपमा सुस्पष्ट र सरल व्यक्तित्वका रूपमा मैले उहाँलाई चिन्दछु ।” बहुदल आएपछि बागलुङ र पर्वतमा औपचारिकरूपमा नेपाली कांग्रेसको जिल्ला पार्टीको गठन पनि पौडेलकै पहलमा भएको थियो । कँडेलले विसं २०४८ को आम चुनावमा पौडेल र आफू सँगसँगै विजयी भएको बताए । पौडेलले तनहुँ-२ र कँडेलले बागलुङ-१ बाट चुनाव लडेका थिए ।

गण्डकी प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस बागलुङका निवर्तमान सभापति दीपेन्द्रबहादुर थापाले बागलुङमा प्रजातान्त्रिक आन्दोलनको माहोल सिर्जना गर्न नवनिर्वाचित राष्ट्रपति पौडेलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । “पञ्चायत विरुद्ध गतिविधि गरेको आरोपमा पर्वतबाट गिरफ्तारीमा पर्नुभयो, उहाँ जेलमै रहेका बेला आन्दोलन सफल भयो, जेलबाट छुटेपछि बागलुङमै भएको विजयोत्सवमा उहाँ सहभागी हुनुभएको थियो”, थापाले भने, “राजनीतिक दल खोल्न र गतिविधि गर्न बन्देज लागेका बेला पौडेल सक्रियतापूर्वक अभियानमा होमिनुभएको थियो ।”

पौडेल स्थानीय विकासमन्त्री हुँदा विश्व बैंकको सहयोगमा बागलुङ-बुर्तिबाङ र बागलुङ-कुश्मिसेरा कृषि सडक निर्माण सुरु भएको थियो । ती सडकले अहिले राजमार्गको स्वरुप लिएका छन् । विकास निर्माणका काममा पु¥याएको योगदानका लागि पनि नवनिर्वाचित राष्ट्रपति पौडेललाई बागलुङवासीले सम्झिने गर्छन् । तनहुँको व्यास-८ रिस्तीमा जन्मिएका पौडेल बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका हुन ।

पौडेल राष्ट्रपति चुनिएपछि गृह जिल्ला तनहुँसहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा खुसियाली मनाइएको छ । व्यास-३ स्थित अनसन चौतारीमा बिहीबार साँझ दीप प्रज्वलन गरिएको थियो । राष्ट्रपति पौडेल तनहुँ-१ बाट गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ७ : १८ बजे

साफ महिला च्याम्पियनसिप : एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी