४ पुस २०८२, शुक्रबार | December 19, 2025

जन्मथलो सुन्तलाबारीवासीको सम्झनामा नेम्वाङ



इलाम । इलाम नगरपालिका–७ स्थित सुन्तलाबारीमा जन्मनुभएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मङ्गलबार इलामसहित देश नै शोकमग्न बन्यो । मङ्गलबारको अप्रिय खबर सुनेर सुन्तलाबारीका कृष्ण श्रेष्ठ बुधबार बिहानै नेम्वाङको जन्मघर पुगे ।

नेम्वाङको छिमेकीसमेत रहेका श्रेष्ठले भने, “हिजो दिनभर घरमै बसे । आज बिहानै उठेर उहाँ जन्मिएको घरमा गएँ । ताल्चा लगाएको सुनसान घरको वरिपरि हेरेँ । विगतका मीठा पल सम्झिएँ । विरक्त लाग्यो ।”

अब फेरि देशले उनीजस्तो अर्को सुवासचन्द्र पाउन मुश्किल हुने श्रेष्ठ बताउँछन् । “उहाँ हाम्रो देशको गहना हुनुहुन्थ्यो, नेम्वाङले इलाममा सम्झनायोग्य थुप्रै काम गर्नुभएको छ । इलामको मात्र होइन झापा, पाँचथर र ताप्लेजुङको विकासका लागि पनि महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ”, श्रेष्ठले भने । इलाम क्षेत्र नं २ को पश्चिमी क्षेत्रमा करिब रु छ अर्बको लागतमा निर्माणाधीन सडक बनाउनुमा नेम्वाङको योगदान अतुलनीय रहेको उनको भनाइ छ ।

यस्तै इलामको गहनाका रूपमा सानिमा हाइड्रोबाट सोयाङ हुँदै इलाम जोड्ने बाटो बनाउन नेम्वाङको महत्त्वपूर्ण योगदान रहेको श्रेष्ठले बताए । इलामका महत्त्वपूर्ण स्थानको विकासका लागि र व्यापारिक क्षेत्रलाई उक्त सडकले ठूलो टेवा पुर्याउने उनको विश्वास छ ।

नेम्वाङले सहयोग गरेकै कारण इलाममा कोल्डस्टोर, सिटीमार्ट, गौतमबुद्ध सभाहलजस्ता संरचना निर्माण भएको सुन्तलाबारीकी सुशीला नेम्वाङको भनाइ छ । नगरलाई विभिन्न गाउँसँग जोड्ने सडक निर्माणका लागि दातृ निकायसँग सम्पर्क गरेर नेम्वाङले योजना ल्याएको उनले सुनाइन । टेलिफोन विस्तार, विद्युतीय विस्तारमा टेवा पुर्याउनुका साथै इलाम अस्पताललाई गुणस्तरीय अस्पताल बनाउन नेम्वाङले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सुशीलाको भनाइ छ ।

सुन्तलाबारी गाउँका ९२ वर्षीय रनबहादुर लिम्बूले विगत सम्झँदै भने, “उहाँको धेरै नबोल्ने गम्भीर स्वभाव थियो । गाउँमा कोहीले झगडा ग¥यो भने ऊ रुन्थ्यो”, राईले भने, “भैझगडा मन नपराउने, धेरै नबोल्ने स्वभाव थियो ।” गएको आम निर्वाचनमा आफूलाई भेटेको स्मरण गर्दै राई भन्छन्, “आशीर्वाद चाहियोभन्दा मैले चिताएको पुगोस् भनेको थिएँ । म जीवितै छु ऊ बितेको खबर सुन्दा मेरो भक्कानो छुट्यो ।”

इलामको सुन्तलाबारीमा बाबु रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारीको कोखबाट २००९ फागुन २८ गते जन्मिनुभएका नेम्वाङले आफ्नो बाल्यकाल त्यहीँ बिताएका थिए बुवा अदालतको न्यायाधीश भएकाले नेम्वाङले इलाम सदरमुकामको सुन्तलाबारीस्थित आफ्नै घरमा बसेर विद्यालय र उच्च शिक्षा लिनुभयो । उहाँले कानुनमा स्नातक अध्ययन गरेका थिए ।

इलाम क्षेत्र नं २ बाट पाँचौँपटक संसदीय निर्वाचनमा निर्वाचित प्रतिनधिसभा सदस्य नेम्वाङको निधनपछि इलाम स्तब्ध बनेको छ । यतिबेला यहाँका सबै राजनीतिक दलका नेता, कार्यकर्ताको एउटै बोली सुनिन्छ, ‘इलामको मियो ढल्यो’ । विसं २०७९ को निर्वाचनमा नेम्वाङ आफ्नै ३० वर्षदेखिको विरासत जोगाउँदै एक सय १४ मतान्तरले विजयी बनेका थिए । नेम्वाङले ३० हजार २० मत ल्याउँदा कांग्रेस जिल्ला सभापति डम्बर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए। नेम्वाङले निर्वाचन जितेको इलाम क्षेत्र नं २ मा इलाम र देउमाई नगरपालिका, माङ्सेबुङ, चुलाचुली, फाकफोकथुम गाउँपालिका, माई नगरका वडा ६, ७, ८ पर्छन् ।

विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेम्बाङ इलाम–२ बाटै ३६ हजर पाँच सय १७ मत ल्याएर विजयी बनेका थिए। प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले २६ हजार आठ सय ६० मत ल्याएका थिए। २०६४ सालको संविधानसभा निर्वाचनमा नेम्वाङले १७ हजार सात सय ४८ मत ल्याउँदा कांग्रेसका केशव थापाले १४ हजार ४४ मत ल्याएका थिए । विसं २०७० को संविधानसभा निर्वाचनमा नेम्वाङले १४ हजार नौ सय ३० मत ल्याउँदा कांग्रेसका भेषराज आचार्यले १२ हजार आठ सय २८ मत ल्याएका थिए। -रासस

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ११ : १३ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ