काठमाडौँ । इजरायलमा भएको आक्रमणमा मारिएका नेपालीमध्ये ४ जनाको शव आइतबार काठमाडौँ आइपुग्ने भएको छ । इजरायल सरकारले पहिचान भएका ४ जनाको शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाए पछि दूतावासले ती शवहरू शनिवार नेपाल पठाउन लागेको हो ।
पहिलो चरणमा नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्ट र आशिष चौधरीको शव नेपाल पठाउन लागिएको दूतावासले जानकारी दिएको छ। ७ अक्टोबरमा गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको दूतावासले जनाएको छ।
नेपाल आइपुग्ने शव लिनका लागि आइतबार बिहान ९ बजे परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थल जाने भएका छन्। शवहरू भोलि नै नेपाली सेनाको हेलिकप्टरमार्फत कैलालीको सदरमुकाम धनगढी पठाउने तयारी गरिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।




















प्रतिक्रिया