७ चैत्र २०८२, शनिबार | March 21, 2026

पूर्वीनाकाबाट पर्यटक आगमन बढ्यो



झापा । पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन बढेको छ । विगत दुई महिनामा यहाँबाट आठ सय ९० जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

कोरोना महामारीपछि चार वर्षसम्म अवरुद्ध रहेको पर्यटक आवागमन दुई महिनाअघि मात्र खुल्ला भएको थियो । सन् २०२४ को सेप्टेम्बर महिनामा यस नाका भएर दुई सय ८७ जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले बताए ।

अक्टुबर महिनामा तेस्रो मुलुकका नागरिकको आगमन बढेर ६ सय तीन पुगेको उनले जानकारी दिए । आगामी दिनमा आगमन अझ बढ्ने सम्भावना छ । भारत सरकारले कोरोना महामारी सुरु भएदेखि काँकडभिट्टासँग जोडिएको भारतीय नाका पानीटङ्कीबाट तेस्रो मुलुकका नागरिकलाई आउजाउ गर्न निषेध गर्दै आएको थियो । नेपालको निरन्तर दबाबपछि यही अगस्तदेखि तेस्रो मुलुकका नागरिकको आवतजावतका लागि भारतले नाका खुला गरेको हो ।

भारतको पानीटङ्की नाका हुँदै काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकमा भूटानीको सङ्ख्या अधिक रहेको छ । विगतमा बङ्गलादेशी नागरिकको लर्को लाग्ने गरेकामा हाल बङ्गलादेशी नागरिकको आगमन नगण्य छ । अध्यागमन अधिकृत भट्टराईका अनुसार सेप्टेम्बर महिनामा नेपाल प्रवेश गरेका दुई सय ८७ जना तेस्रो मुलुकका नागरिकमा भूटानीको सङ्ख्या एक सय ६८ र अमेरिकी ५४ र अस्ट्रेलियन चारजना रहेका छन् ।

यसैगरी, अक्टुबरमा तेस्रो मुलुकबाट नेपाल आएकाको कुल सङ्ख्या ६ सय तीन रहेकामा भूटानी तीन सय ४६, अमेरिकी एक सय ३० र अस्ट्रेलियन २३ जना रहेको भट्टराईले बताए । “काँकडभिट्टा नाका भएर आउने तेस्रो मुलुकका नागरिकमध्ये आधाजसो भूटानी नागरिक छन्,” अध्यागमन अधिकृत भट्टराईले भने, “धेरैजसो भूटानी नागरिक धार्मिक तीर्थाटन र थोरैजसो भेटघाटका लागि आउनु हुँदोरहेछ ।”

घुमफिरका लागि आउने भूटानी नागरिकहरुले लुम्बिनी, फर्पिङ र हलेसी जाने बताउने गरेका छन् । भूटानीसहित सार्क मुलुकका नागरिकका लागि काँकडभिट्टा नाकामै ‘अनअराइभल भिसा’ जारी हुने व्यवस्था छभने एक वर्षमा एक खेपमा ३० दिन अवधिसम्मको भिसा निःशुल्क हुने गरेको छ । “सार्क मुलुकका नागरिकका लागि एक भिसा वर्षमा ३० दिनसम्म निःशुल्क भिसा प्रदान गरिने व्यवस्था छ,” भट्टराईले भने, “यो निःशुल्क सुविधाको भूटानी नागरिकले लाभ लिएको देखिन्छ । तीस दिनभन्दा बढी अवधिका लागि भिसा दिनु परेमा प्रत्येक दिनको तीन अमेरिकी डलरका दरले भिसा शुल्क लिने गरिएको छ ।” गैरआवासीय नेपाली नागरिक र शरणार्थीका रुपमा तेस्रो मुलुकमा पुनस्र्थापना भएका भूटानी नागरिकले नेपाल आउनका लागि काँकडभिट्टा नाका प्रयोग गर्न रुचाउने गरेको पाइन्छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ७ : ३२ बजे

कर्णाली प्रदेशसभाबाट हिमाली जिल्लामा नियमित हवाई उडान गर्ने ६ बुँदे संकल्पपत्र पारित

कर्णाली । कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौं । जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६

ढोरपाटनमा भारी हिमपात

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी