२१ मंसिर २०८२, आइतबार | December 8, 2025

भारत र चीन जोड्ने खाँदबारी–किमाथाङ्का सडक ‘ब्रेक थ्रु’



काठमाडौँ । जोगवनी नाकादेखि सङ्खुवासभाको किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको खाँदबारीदेखि किमाथाङ्कासम्मको सडक ‘ब्रेक थ्रु’ गरिएको छ ।

सङ्खुवासभा सदरमुकाम खाँदबारीदेखि चीनसँगको उत्तरी सीमा नाका किमाथाङ्कासम्म पर्ने एक सय ५८ किलोमिटर सडकको ट्र्याक खन्ने काम सम्पन्न भएसँगै उक्त सडकको आज ‘ब्रेक थ्रु’ गरिएको हो । खाँदबारी–किमाथाङ्का सडकअन्तर्गत च्याम्ताङ्गदेखि घोङघोप्पासम्मको साढे १० किलोमिटर सडकको चट्टानसहितको भीर नेपाली सेनाले फुटाएर ट्र्याक खुलाएसँगै आज सङ्घीय सरकारका तीन मन्त्रीको उपस्थितिमा उक्त सडकको ‘ब्रेक थ्रु’ गरिएको हो ।

उक्त सडकको भोटखोला गाउँपालिका–१ च्याम्ताङमा सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिएको हो । उक्त सडकको ‘ब्रेक थ्रु’ सँगै भारतदेखि चीनसम्मको कोशी राजमार्गको ट्र्याक खोल्ने कार्यसँगै सडक स्तरोन्नति र चौडा बनाउने काम हुनेछ ।

सिँचाइमन्त्री खड्काले गत पुस १२ गते रक्षामन्त्री राई र निर्माणमा संलग्न नेपाली सेनाको टोलीलाई भेटेर सडक चाँडो सम्पन्न गर्न ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा मन्त्री खड्काले खाँदबारी–किमाथाङ्का सडक जोडिएसँगै त्रिदेशीय पारवहनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले त्रिदेशीय नाका जोड्ने उक्त सडक सञ्चालनमा आएपछि नेपाल–भारत र चीनका साथै बङ्गलादेशले फाइदा लिनसक्ने उल्लेख गरे । सडक स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गर्न मन्त्री खड्काले भौतिक पूर्वाधार मन्त्रालयलाई आग्रह गरेका थिए । किमाथाङ्का क्षेत्र हुँदै अरुण नदीको बहाव रहेकाले उक्त क्षेत्रमा अन्य जलविद्युत् आयोजना निर्माण गर्न सकिने मन्त्री खड्काको भनाइ थियो । “यो सडकको पहुँचमार्फत जलविद्युत् विकासमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने हुँदा यो शीघ्र सञ्चालन गर्न आवश्यक छ,” उनले भने ।

कार्यक्रममा रक्षामन्त्री राईले नेपाली सेनाद्वारा निर्माण भइरहेको उक्त सडक मुलुकको विकासमा महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको बताए । उनले समयअगावै सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएकामा नेपाली सेनालाई धन्यवाद दिए । मन्त्री राईले पूर्वको किमाथाङ्का नाका, पश्चिमको हिल्सा नाका र केरुङ नाकालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे । बाँकी रहेको काम चाँडो सम्पन्न गर्ने गरी काम गर्न मन्त्री राईले सेनालाई निर्देशन दिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले उक्त सडकखण्डको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट अभाव हुन नदिने बताए । उनले उक्त सडकखण्डमा पर्ने पुल निर्माणका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्ने उल्लेख गरे ।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले उक्त सडक निर्माणले भोटखोलाको आर्थिक विकासमा सहयोग पुग्ने बताए । “सडक ब्रेक थ्रुसँगै भोटखोला, सङ्खुवासभा र सिङ्गो मुलुकका लागि सुनौलो दिनको सुरुआत भएको छ,” उनले भने । कार्यक्रममा नेपाली सेनाले आफूले गरेको कामको प्रगतिबारे जानकारी गराएको थियो । सेनाले सडक निर्माणका लागि बजेट अपुग रहेकाले बजेट सुनिश्चित गरे सडक चौडाइको काम चाँडो सम्पन्न गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ४ : ४८ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब