९ पुस २०८२, बुधबार | December 24, 2025

प्रतिनिधिसभाः मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने माग



काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्नुहुने सांसदहरुले जङ्गली जनावरको आक्रमण, सडक दुर्घटना, आगलागी, भष्ट्राचारलगायतका घटना बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सरकारमा रहेका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरे । आजको बैठकमा बोल्दै सांसद अच्युतप्रसाद मैनालीले विद्यमान वन ऐनले जङ्गली जनावरको आक्रमणबाट पीडित हुनेलाई सरकारले राहत र क्षतिपूर्ति दिनुपर्ने स्पष्ट व्यवस्था नरहेकाले सोसम्बन्धी व्यवस्था गरिनुपर्ने बताए ।

सांसद अन्जनी श्रेष्ठले जङ्गली जनावरको आक्रमण बढेको विषय संसद्मा उठाए । सांसद टेकबहादुर गुरुङले सुक्खायाममा वनमा डढेलोको जोखिम बढी हुने भएकाले त्यसको न्यूनीकरण र आगलागी नियन्त्रणमा तदारुकता देखाउनुपर्नेमा जोड दिए ।

सांसद अनिशा नेपालीले आन्दोलनरत स्वर्गद्वारी गुठीका मोही किसानको जायज माग सम्बोधन गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण गराइन् । सांसद अस्माकुमारी चौधरीले पनि स्वर्गद्वारी गुठी पीडित किसान काठमाडौँ र जिल्लामा समेत आन्दोलन गरिरहेकाले उनीहरुका माग सुनुवाइ हुनुपर्ने धारणा राखिन् ।

सांसद अम्बिका बस्नेतले काठमाडौैँ उपत्यकामा बालबालिका हराउने र अपहरणमा पर्ने घटना सार्वजनिक हुन थालेकोप्रति चिन्ता व्यक्त गरिन् । सांसद अम्मरबहादुर थापाले सरकारले पुँजीगत बजेट खर्च बढाउनुपर्नेमा जोड दिए । बजेट विनियोजनमा कुशलता नहुँदा खर्च गर्न सक्ने ठाउँमा बजेट नहुने तर खर्च गर्न नसक्ने ठाउँमा बजेट दिने प्रवृत्तिको अन्त्य गरिनुपर्ने उनले बताए । जाजरकोट भूकम्प पीडितलाई राहत तथा क्षतिपूर्ति रकम तत्काल उपलब्ध गराउन पनि उनले माग गरे ।

सांसद अमृतादेवी अग्रहरीले विपक्षी दलहरुले सरकारले गरेका राम्रा कामको पनि विरोध गर्ने गरेको आरोप लगाइन् । अर्का सांसद अशोककुमार चौधरीले मुलुकलाई कम्लरी मुक्त घोषणा गरिए पनि अझै यो कुप्रथालाई राज्य तहबाटै संरक्षण भइरहेको आरोप लगाए ।

सांसद असिम शाहले विद्यमान सरकार बनेको लामो समय भइसक्दा पनि मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक नभएको भन्दै सम्वपत्त विवरण सार्वजनिक गरिनुपर्ने बताए । भ्रष्टाचारका विभिन्न काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठनको उनले माग राखे ।

सांसद ईश्वरी घर्तीमगरले पाठेघर र स्तन क्यान्सरको परीक्षणलाई निःशुल्क गरिनुपर्ने माग गरिन् । सांसद ईश्वरीदेवी न्यौपानेले कैलाली जिल्लाका विभिन्न क्षेत्रमा डुबानको समस्या रहेकाले कर्णालीलगायत नदीमा तटबन्धको व्यवस्था गर्न सरकारसँग आग्रह गरिन् । सांसद उर्मिला माझीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई मौलिक हकका रुपमा राखिएको भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन् । वीर अस्पतालको आकस्मिक कक्षमा बिरामीको चाप बढेको विषय उनले उठाइन् ।

सांसद ऋषिकेश पोखरेलले हिउँदेबालीका लागि मल, बीउ र सिँचाइको अभाव भइरहेको विषयमा सरकारको ध्यानाकर्षण गरे । मल आयातमा सरकारको एकाधिकार तोडेर निजी क्षेत्रलाई आयात गर्न दिनुपर्ने धारणा उनले राखे ।

सांसद एकनाथ ढकालले आगामी जेठमा आयोजना हुन लागेको सगरमाथा संवादलाई नेपालले जलवायु न्यायको मुद्दा स्थापित गर्नमा प्रयोग गर्न सक्नुपर्ने बताए । सांसद कान्तिका सेजुवालले नेपालगञ्ज भन्सार कार्यालयको जाँचपास मेसिन बिग्रेको लामो समय भइसक्दा पनि मर्मतसम्भार हुन नसकेको विषय संसद्मा उठाए ।

सांसद कालुराम राईले गर्मीयाममा सर्पदंशका घटना बढ्ने गरेको तर सर्पदंशको उपचारका लागि पर्याप्त अस्पताल नरहेको विषय उठाए । सांसद गणेश पराजुलीले गैरआवासीय नेपालीलाई नागरिकता दिएको विषयमा उनीहरुलाई नेपालमा लगानी गर्नका लागि वातावरण बनाएर त्यसको अधिकतम लाभ लिनसक्नुपर्ने बताए ।

सांसद गोकुलप्रसाद बाँस्कोटाले बनेपा–धुलिखेल सडक निर्माणमा ढिलाइ भएकोप्रति संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए । अर्का सांसद गङ्गा कार्कीले सडक दुर्घटना बढेको उल्लेख गर्नुहुँदै यसका कारण पहिचान गरी निराकरणका लागि पहल गर्न सरकारसँग आग्रह गरे । सांसद चन्द्रकान्त भण्डारीले पनि सडक दुर्घटना न्यूनीकरणका लागि सरकार र मातहतका निकायबाट आवश्यक पहल हुनुपर्नेमा जोड दिए । सांसद डा चन्दा कार्की भण्डारीले विभिन्न सडक निर्माणमा ढिलाइ भएको विषय उठाइन् । सांसद चित्रबहादुर केसीले इजरायल र हमासको युद्धमा हराइरहेका कञ्चनपुरका विपिन जोशीको खोजी गर्न सरकारले गरिरहेको कामबारे संसद्लाई जानकारी गराउन माग राखे ।

सांसद छिरिङल्हामु लामा (तामाङ) ले केही समयअघि काठमाडौँको ठमेलमा प्रहरीमाथि भएको आक्रमणको गम्भीर छानबिनको माग गरे । सांसद जावेदा खातुन जागाले मुस्लिम समुदाय राज्यबाट उपेक्षित पारिएको बताइन् । शिक्षा मन्त्रालयले छात्रवृत्ति कार्यक्रममा मुस्मिललाई विभेद गरेको उनको भनाइ छ ।

सांसद जुलीकुमारी महतो (महासेठ)ले रूख कटान, जग्गा अधिग्रहण, निर्माण सामग्री व्यवस्थापनलगायतमा ढिलाइ हुँदा विकास निर्माण प्रभावित भएको बताइन् ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ४ : ३२ बजे

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका