३ पुस २०८२, बिहिबार | December 19, 2025

आज बुटवल उपमहानगरपालिकाको ६६ औं स्थापना दिवस, विविध कार्यक्रम गरी मनाउँदै



बुटवल । बुटवल उपमहानगरपालिकाले आज ६६ औं स्थापना दिवस मनाउँदै छ । बटौली बजारलाई वि.सं. २०१६ साल फागुन ३ गते बुटवल-खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै आएको छ ।

स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको बुटवलले आज मूल समारोह तथा सम्मान कार्यक्रम आयोजना गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । मूल समारोहमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह प्रमुख अतिथिका रुपमा आउने उनले बताए ।

कार्यक्रममा स्थानीय राजनीतिक दल, सामाजिक संस्थाका प्रतिनिधिलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । आज मूल कार्यक्रममा बुटवलभित्रका उत्कृष्ट करदाता, उत्कृष्ट कर्मचारी, उत्कृष्ट टोल विकास संस्था, उपभोक्ता समिति, उत्कृष्ट निर्माण व्यवसायी, सञ्चारकर्मीलगायतलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम रहेको उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिइन् ।

मुन्निलालदेखि खेलराजसम्मको नेतृत्व

तत्कालीन बुटवल खस्यौली नगरपालिकाको पहिलो नेतृत्व मुन्निलाल शाक्यले (२०१६-२०१७ साल) गरेका थिए । शाक्यपछि ओमशंकर श्रेष्ठ (२०१९-२०२३ साल), परीक्षितप्रसाद लाकौल (२०२४-२०२६ साल), सरस्वतीप्रसाद शेरचन (२०२६-२०२८ साल र पुनः २०३३ देखि २०३६ साल), हरिबहादुर सिंह (पहिलो पटक २०२८मा प्रधानपञ्चमा र यो सहित चार पटकसम्म प्रधानपञ्च), सूर्यलाल वि.सं. (२०३०), बृजमान श्रेष्ठ (२०३६-२०३९) प्रधानपञ्च थिए ।

प्रजातन्त्र पुनःस्थापनापछि भएको स्थानीय चुनावमा सू्र्यप्रसाद प्रधान (२०४९-२०५३) र भोजप्रसाद श्रेष्ठ (२०५४-२०५९) नगरप्रमुख थिए । सूर्यबहादुर थापा नेतृत्वको सरकारबाट मनोनित भएर २०६० सालमा पुनाराम पोखरेलले पनि नगरप्रमुख भएर केही समय नेतृत्व गरेका थिए । माघ १९ पछिको शाही सरकारले गराएको नगरपालिका चुनाबबाट रुपसिंह थापा थोरै समयको लागि नगरप्रमुख बने पनि लोकतन्त्र स्थापना पछिको सरकारले निर्वाचनलाई नै खारेज गरेको थियो ।

१५ वर्ष जनप्रतिनिधिविहीन भएको बुटवल उपमहानगरपालिकामा २०७४ साल असारमा भएको निर्वाचनबाट शिवराज सुवेदी प्रमुख र गोमादेवी आचार्य उपप्रमुख भई कार्यभार सम्हालेका थिए । नेपालको संविधान कार्यान्वयन भएपछिको दोस्रो कार्यकालका लागि २०७९ वैशाख ३० मा भएको निर्वाचनबाट नगर प्रमुखमा खेलराज पाण्डेय र उपप्रमुखमा सावित्रादेवी अर्याल निर्वाचित भएका थिए ।

बटौली, खस्यौलीदेखि नयाँ बुटवलसम्म

पञ्चायती व्यवस्थामा बुटवल-खस्यौली नगरपञ्चायत भनिएपनि २०४६ सालपछि बुटवल नगरपालिका भन्न थालिएको थियो । २०७१ साल मंसिरमा उपमहानगरपालिकामा स्तरोन्नति भएको बुटवल पश्चिम नेपालकै प्रमुख सहरका रुपमा परिचित छ । विगतमा अहिलेको मुख्य बजारभन्दा तिनाउ पारी थियो बटौली बजार । २० को दशकतिर वारी खस्यौलीमा पनि बजार र बस्ती बस्न थाले । २०३५ सालमा बटौली क्षेत्रमा रहेको नगरपालिकाको कार्यालय पनि अहिलेको कार्यालय भएको ठाउँ हाटबजारलाइनमा सर्याे । खस्यौलीमा पूर्वाधार थपिदैँ गएपछि बजारले बुटवल सहरको रुप लियो । बुटवलबाट दक्षिण र पश्चिम बस्ती विस्तार हुँदै गयो ।

बिक्रम सम्बत १९७५ रिच फाउले खिचेको बुटवलको तस्वीर

५ सयवर्ष अगाडि पाल्पा राज्यका राजा मणिमुकुन्द सेनले काश्मीरबाट कशौधनहरुलाई व्यापारका लागि यहाँ ल्याए भने नेवारहरु पनि त्यसै सेरोफेरोमा यहाँ आएका थिए । १९९५ सालतिर मुस्ताङबाट थकालीहरु यहाँ आए । व्यापार विनिमयमा तत्कालीन समयमा यो क्षेत्र प्रख्यात थियो । पहाडबाट ल्याएको घिउ प्रशोधन गरेर भारतसहितका मुलुकमा पठाइन्थ्यो । ल्हासाको नुन, सुन, पहाडको जडिबुटी, घिउ, तेलजस्ता सामग्री बेच्ने थलो बटौली थियो बुटवल उप-महानगरपालिकाभित्रको जनसंख्या करिब २ लाखको हाराहारीमा छ । औपचारिक बसोबासीको संख्या करीब २ लाख भएपनि अनौपचारिक रुपमा यहाँ बसोबास गर्नेको संख्या करीब २ लाख रहेको छ ।

बिक्रम सम्बत १९७५ रिच फाउले खिचेको बुटवलको तस्वीर

६ लेनका फराकिला सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थलजस्ता राष्ट्रियस्तरका संरचनाले बुटवलको प्रतिष्ठा बदल्दै गएको छ । देवीनगर, मगरघाटमा बनेका पक्की पुलले विभिन्न ठाउँमा जाने मार्गलाई सहज बनाएको छ । बुटवल भौतिक पूर्वाधारमा मात्रै नभई मानव संसाधनका दृष्टिले अगुवा शहरका रुपमा स्थापित हुने नगर प्रमुख खेलराज पाण्डेय बताउँछन् । “यो ५ वर्षमा बुटवल देशकै अगुवा सहरका रुपमा स्थापित हुनेछ,” उनले भने, “बुटवल बर्दघाटदेखि चन्द्रौटासम्मको नेतृत्व गर्ने केन्द्रका रुपमा स्थापित हुने क्रममा रहेको छ ।”

बिक्रम सम्बत १९७५ रिच फाउले खिचेको बुटवलको तस्वीर

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ६ : ०१ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको