२३ बैशाख २०८१, आइतबार | May 5, 2024

निषेधाज्ञा थप कडा बनाउन काठमाडौं उपत्यकाका मेयरहरुको माग, बुधबार मात्रै निर्णय हुने



काठमाडौं । काठमाडौं उपत्यकाको तीन जिल्लामा जारी निषेधाज्ञाको स्वरुपका विषयमा छलफल सुरु भएको छ ।

भोलि बुधबार मध्यराति १२ बजेदेखि निषेधाज्ञा अवधी सकिँदै छ । त्यसपछि के गर्ने भन्नेबारे उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्लाअधिकारीहरु (सीडीओ)ले सरोकारपक्षसँग छलफल सुरु गरेका छन् ।

उनीहरुबीच आज भर्चुअल बैठक समेत भएको छ । यसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयसहित विभिन्न क्षेत्रका विज्ञ, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग छलफल गरिएको छ ।

“तीन जिल्लाका प्रमखु जिल्ला अधिकारीबीच आज मात्रै भर्चुअल बैठक गरेका छौँ, सबै सरोकारवालासँग परामर्श लिने काम भएको छ, त्यसको आधारमा साझा धारणा बनाएर उपयुक्त निर्णय लिइने छ”, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने । आज निषेधाज्ञाबारे कुनै निर्णय नहुने दाहालले स्पष्ट पारे ।

उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको यही भदौ २ गतेको निर्णयानुसार ४ गते बिहान १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि उपत्यकका तीनै जिल्लामा निषेधको आदेश जारी गरिएको थियो ।

भदौ १० गतेको निर्णयानुसार भदौ १७ गते राति १२ बजेसम्मका लागि उक्त आदेश कायम गरिएको छ । निर्धारित समयको एक दिनअगावै तीनै जिल्लाका प्रजिअले उपयुक्त निर्णय लिन छलफल र परामर्श गरेका हुन् ।

विभिन्न क्षेत्रका प्रतिनिधिको सुझावका आधारमा तीनै जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञाको स्वरुपबारे साझा धारणा बनाउने र उक्त विषयमा बुधबार गृहमन्त्रालयसँग छलफल गरी परामर्शका आधारमा आवश्यक निर्णय लिइने दाहालले बताए ।

जनस्वास्थ्य विज्ञहरुले स्वास्थ्य सुरक्षा मापदण्डमा कडाई गर्दै निषेधाज्ञालाई खुकुलो बनाउनुपर्ने बताएका छन् ।

तर, उपत्यकाका जनप्रतिनिधिहरुले निषेधाज्ञालाई अटेर गरिएको बताउँदै कर्फ्यु लगाउनुपर्ने जिकिर गरेका छन् । केही संस्थाले भने मध्यमार्गी निर्णय जरुरी रहेको सुझाव दिएको छ ।

उपत्यका नगरपालिका फोरमले भने अझै कडा गर्नुपर्ने सुझाव पठाएको छ । फोरममा उपत्यकाका १८ वटै पालिकाका प्रमुख र उपप्रमुख आबद्ध छन् । फोरमका सचिव मदनसुन्दर श्रेष्ठले भने, “अहिलेसम्मको नतिजा हेर्दा सङ्क्रमण बढ्दै गएको देखिन्छ, त्यसैले हामीले अर्को एक हप्ता थप कडाइ गर्न सुझाव दिएका छौँ ।” उनका अनुसार सर्वसाधारणले निषेधाज्ञाको पूर्ण पालना गरिरहेका छैनन् । त्यसैले नियन्त्रण हुन सकेको छैन ।

निषेधाज्ञाको समयमा जानाजान घुमफिरमा निस्कने जमात बढिरहेको छ । तरकारी तथा फलफूल बजारमा सामाजिक दूरी कायम हुन सकिरहेको छैन । प्रहरीले समेत प्रभावकारी भूमिका निर्वाह गर्न सकिरहेको छैन ।

आफैँ सङ्क्रमित भएकाले न्यून सङ्ख्याका प्रहरीले सुरक्षा दिइरहनुपरेको छ । जबर्जस्ती गाडी चलाउने क्रम रोकिएको छैन । दुई हप्ताको अन्तरालमा उपत्यकाका यसरी आदेश उल्लङ्घन गर्ने झण्डै १० हजार गाडी कारवाहीमा परिसकेको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले निषेधाज्ञा पूर्ण पालना गर्ने हो भने योभन्दा उपयुक्त कदम केही पनि नहुने जिकिर गरे । महर्जनले मानिसले स्वास्थ्य मापदण्ड पालना नगरे जस्तोसुकै कडा गरे पनि केही नहुने बताए

काठमाडौं उपत्यकामा दैनिक १०० देखि ५०० सम्म कोभिड–१९ का बिरामी भेटिँदै आएको छ । साउनपछि भने द्रुत गतिमा सङ्क्रमण फैलिएको छ । दैनिक मृत्युदरसमेत बढ्दो छ ।

यस्तो अवस्थामा अहिले नै निशेषाज्ञा प्रभावकारी नभएको भनेर विश्लेषण गर्नु हतार हुने विज्ञको भनाइ छ । चौध दिन पछि मात्रै एउटा तथ्याङ्क आउने भएकाले अबको हप्ता भने त्यसका लागि महत्वपूर्ण हुनेछ ।

“अहिलेसम्म पुरानै सङ्क्रमणको असर देखिँदै, अब बल्ल नयाँ बिरामी फेला पर्ने हुन्, अबका दिनमा घट्छ भन्ने आशा छ”, महर्जनले भने, बल्ल अब नतिजा कस्तो आउँछ हेर्नुपर्छ ।” उनले स्वास्थ्य मापदण्ड प्रयोग गर्ने र नाका नियन्त्रण गरे निषेधाज्ञा खुकुलो गर्दा पनि हुने नत्र कडा गर्नुको विकल्प नभएको बताए ।

गृहमन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेका अनुसार अहिले मुलुकका ४३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । ४७ मध्ये केही हिमाली जिल्लामा सुधार आएकाले निषेधाज्ञा हटाइएको लामिछानेले बताए ।

गृहको अनुगमनमा आदेशको कार्यान्वयन सन्तोषजनक नै छ । आदेश जारी नगरिएको भए अवस्था भयावह हुनेतर्फ उनले सबैमा ध्यानाकर्षण गराए ।

अझै आवश्यकता देखिएमा स्थानीय प्रशासनलाई आवश्यक निर्णय लिन अधिकार रहेको उनको भनाइ छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने अझै कडाइ गर्न अनुरोध गरेको जनाइएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ४ : ०१ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ