१४ पुस २०८२, सोमबार | December 29, 2025

स्वतन्त्र र निष्पक्ष पत्रकारिता बिना लोकतन्त्रको कल्पना गर्न सकिन्न : राष्ट्रपति



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगत्को भूमिका उल्लेखनीय रहेको बताएकाछन्।

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आज आयोजना गरेको वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको सशक्त तथा प्रभावकारी माध्यम भएको बताए ।

राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएकाले पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न नसकिने स्पष्ट पारे ।

“त्यही भएर हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको हो, संविधानको यो मर्म र भावनाअनुसार पत्रकारलाई निर्भय र स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो”, उनले भने, “त्यसैगरी सत्यतथ्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्ने जिम्मेवार प्रेसको धर्म हो, यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुनेनै छ भन्ने मैले विश्वास लिएको छु ।”

राष्ट्रपति पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने अवस्थाको सुनिश्चितातर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए ।

उनले सूचना प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोगले आधारहीन र मिथ्या सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्नसक्ने खतराको सामना गर्नु वर्तमान आम सञ्चारमाध्यमको चुनौती भएकाले यस्ता चुनौतीको सामना गर्न नेपाली प्रेस सक्षम हुने विश्वास व्यक्त गरे ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउँदै जनताले अपेक्षा गरेको सुशासन, विकास र आर्थिक समृद्धिको युगानुकूल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझ प्रभावकारी ढङ्गले काम गर्नेमा आफू विश्वस्त रहेको राष्ट्रपति पौडेलको भनाइ थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक कानुन बनाउने र परिमार्जन गर्ने कार्य सरकारबाट भइरहेको जानकारी दिए । “कानुनी हिसाबले पनि सङ्क्रमणकालीन अवस्था नै छ, कानुन बनाउने क्रम जारी छ”, मन्त्री गुरुङले भने, “पत्रकारिता पेसालाई थप व्यवस्थित र मर्यादित बनाउन जरुरी छ ।”

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारिता क्षेत्रमा आर्थिक सङ्कटका साथै व्यावसायिक चुनौती बढ्दै गएको र पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा राज्यले ध्यान दिनुपर्ने बताइन् ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेलले नेपाली प्रेसले संसारकै सक्षम र दक्ष पत्रकार उत्पादन गर्नुपर्ने, त्यसका लागि सूचना प्रविधिको प्रयोगसँगै पत्रकारितालाई अझ व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा पत्रकार महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेल र प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गणेश बस्नेतलाई वरिष्ठ पत्रकार सम्मान–२०८१ प्रदान गरियो । राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ विमल गौतम (बाग्लुङ), दीपेन्द्र श्रेष्ठ (कास्की), लोकसरी कुँवर (कैलाली), दीपेन्द्र बान्तवा (सङ्खुवासभा), डिल्लीराम खतिवडा (उदयपुर) र सागर पण्डित (तनहुँ) लाई प्रदान गरिएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले उक्त पुरस्कार प्रदान गरेका थिए । वरिष्ठ पत्रकार सम्मान–२०८१ को राशि रु दुई लाख र राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८१ रु एक लाख राशि रहेको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ५ : ५५ बजे

सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौँ । सर्वोच्च अदालतमा सरकार र जेनजी पुस्ताबीच भएको १०

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये

भदौ २३ को नैतिक जिम्मेवारी लिन्छु, २४ गतेको घटना नियोजित षड्यन्त्र हो : रमेश लेखक

भदौ २३ को नैतिक जिम्मेवारी स्वीकार्छु, भदौ २४ को घटना

जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले दिए ६ पृष्ठको लिखित बयान (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ