हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई नेकपा एमालेले ह्वीप जारी गरेको छ।
एमाले बागमती प्रदेश संसदीय दलले बानियाँले लिन लागेको विश्वासको मतको समयमा प्रदेशसभामा अनिवार्य उपस्थित हुन र मत दिन ह्वीप जारी गरेको हो । एमाले बागमती सरकारको मुख्य साझेदार हो ।
कांग्रेसभित्रको आन्तरिक विवादका कारण बहादुरसिंह लामालाई विस्थापित गरेर हालै साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले साउन २७ गते मंगलबार दिउँसो ४ बजे प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । संविधानको धारा १६८ को उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम ९१० अनुसार बानियाँले विश्वासको मत लिने प्रक्रिया अघि बढाएका हुन्।
बानियाँको दल कांग्रेसले यसअघि नै आफ्ना सबै सांसदहरुलाई पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ । यद्यपी, पूर्वमुख्यमन्त्री लामा पक्षले भने यसअघि भएको सहमति बानियाँले लत्याएको भन्दै सामुहिक राजीनामा दिने चेतावनी दिएका छन् । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेर आफ्ना माग राख्ने तयारी गरेका छन् ।


















प्रतिक्रिया