काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले बिहीबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै उनीहरूले निरन्तर संसद् बहिष्कार गर्दै आएका हुन् ।
बिहीबार संसद् बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै उठेर विरोध जनाए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद अशोक चौधरीलाई बोल्न समय दिए । सांसद चौधरीले भिजिट भिसा प्रकरणबारे सरकार गम्भीर नभएको र आफ्नो आन्दोलन जारी रहने स्पष्ट पारे । उनले बेथिति विरुद्ध आवाज उठाउनेलाई जेल हाल्ने प्रवृत्तिप्रति आपत्ति पनि जनाए ।
त्यस्तै, राप्रपा सांसद धवलशमशेर राणाले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे । साथै उनले निजी शिक्षालाई निरुत्साहित गर्ने कार्य उचित नभएको बताए ।
भिजिट भिसा प्रकरणमा छानबिन समितिको मागलाई लिएर रास्वपा र राप्रपाका सांसदहरूले पछिल्ला दिनमा निरन्तर सदनमा विरोध जनाउँदै आएका छन् ।


















प्रतिक्रिया