८ पुस २०८२, मंगलबार | December 24, 2025

‘निकै जतन गरी चलाएका सवारीसाधन खरानी भए’



काठमाडौं । आज विश्वकर्मा पूजा, सवारी चालकका लागि विशेष पूर्वक रूपमा मानिन्छ । सिंहदरबारका सरकारी सवारी चालकहरू विगतका वर्षमा आजका दिन विश्वकर्मा पूजा गर्दै उत्साहका साथ यो पर्व मनाउँथे । यस वर्ष भने सिंहदरबारमा कुनै पूजाआराधना भएन । मात्रै जलेर खण्डहर भएका सवारिसाधन अलपत्र देखिए ।

जलेर अस्थिपञ्जर भएका सवारीसाधनको पहिचान गर्दै कागजमा टाँसेर फलनाको सवारी भन्दै नामकरण गरिएको छ । फुटेका सवारीलाई भने प्लास्टिकले छोपेर सुरक्षित राखिएको छ ।

सिंहदरबारभित्र जलेका सवारिसाधन देख्दा गृहमन्त्रालयका सवारी चालक राजाराम कोइरालाको मन अत्तालिन्छ । उनका अनुसार चालकका लागि सवारिसाधन मन्दिरजस्तै पवित्र हुन्छ ।

‘आफूलाई चोट लागे खासै वास्ता हुँदैन तर, आफूले चलाउने सवारी खरानी हुँदा मन रुँदोरहेछ’, उनले भने, ‘विश्वकर्मा पूजा गरिरहने बस फुटेर देख्नै नहुने भएको छ । पूजा कसरी गर्ने ?’

जेनजी प्रदर्शनको दोस्रो दिन सिंहदरबारमा आगलागी भयो भनेको सुनेपछि सामाजिक सञ्जालमा गृहमन्त्रालयका सवारिसाधन दन्दन्ती जलेको देखेर सवारी चालक कोइरालालाई आफूले चलाएको सवारीसाधनको तस्बिर आँखाभरि घुमिरह्यो । के भयो, कसो भायो ? थाहा नभएको भन्दै उनी मनमा कौतुहलता मात्र मच्चिएको बताउँछन् ।

‘भोलिपल्ट बिहानै कफ्‌र्यु लागिरहेकै समयमा म सिंहदरबार पुगेँ, सवारीको अवस्था बुझ्न । मन्त्रालयको पार्किङमा पुग्दा थुप्रै गाडीहरू दन्किएका थिए । मैले कर्मचारी बोक्न चलाउने बस बने घाइते अवस्थामा थियो । सिसा फुटेर देख्न नसक्ने भएको रहेछ । तर, आगो लागेको थिएन । एउटा चालकका लागि सवारीसँगको सम्बन्ध नङ र मासुजस्तै घनिष्ठ हुन्छ । हाम्रा लागि सवारिसाधन मन्दिर हो भने, हामी उसका साधक हौँ’, चालक कोइरालाले भने, ‘फुटेका सिसा फेरेर छिट्टै गुड्ने बनाउँछौँ ।’

विगतमा सिंहदरबारका सवारीचालकहरू मिलेर फूल, नरिवल, ध्वजा, धुप किनेर पूजाआराधना गर्थे । पूजा गर्ने र लड्डु खाएर उत्सव मनाउँथे । विश्वकर्मा पूजाको रौनकले सिंहदरबारका अरु कर्मचारीलाई पनि रमाइलो महसुस गराउँथ्यो । गृहमन्त्रालयका कर्मचारी केदार घिमिरेका अनुसार विश्वकर्मा पूजामा सिंहदबारका सबै सवारिसाधन सफा, चिटिक्क परेका हुन्थे ।

‘अझ भनौँ त्यो दिन सवारिसाधन बेहुलीजस्तै सजिएका हुन्थे’, उनले विगत सम्झिँदै थपे, ‘अहिले देख्नै नसक्ने गरी जलेका छन् । दुःख लागेको छ ।’

कानुन मन्त्रालयमा नौ वर्षदेखि सवारी चालकका रूपमा काम गर्दै आएका लीलाबहादुर बोगटी सवारिसाधन आफ्ना लागि जीवनकै महत्त्वपूर्ण पाटो रहेका बताउँछन्। उनका लागि सवारिसाधन रोजीरोटीको जोह गर्ने मुख्य आधार हो । सवारिसाधन र सवारी चालकबीच निकै संवेदनशील सम्बन्ध जोडिएको हुने उनको अनुभव छ ।

हिँड्दाहिँड्दै, गुड्दागुड्दै साथ नदिएको बेला के गर्ने रु बोगटी प्रश्न गर्दै भन्छन् आफूले चलाउने सवारीको निकै माया लाग्ने रहेछ । सहसचिवको सवारी चलाउने उनले भने, ‘सवारीसाधन कहिल्यै फोहोर बनाइन र कोरिएकोसमेत थिएन । यति माया र जतन गरेको सवारी अहिले फुटेर देख्नै नहुने भएको छ । अहिले मेरो मन पनि त्यही चकनाचुर सिसाजस्तै चर्किएको छ । त्यो सवारिसाधन मेरो लागि साथीजस्तै थियो ।’

सिंहदरबारभित्रका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मन्त्रालय र विभिन्न निकायका गरी ७५० मोटरसाइकल तथा स्कुटरसहित अन्य ३५० सवारिसाधन जलेर नष्ट हुनुका साथै क्षतिग्रस्त भएका छन् ।

यसैबीच, गृहमन्त्रालयले देशभर सवारिसाधन र कार्यालयमा भएका क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य सुरु गरेको मन्त्रालयका सहसूचना अधिकारी एवं उपसचिव रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार गृहमन्त्रालयमा अधिकांश सवारिसाधन जलेर नष्ट भएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ५ : १८ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना