काठमाडौं । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट फरार भएका पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी सोमबार साँझ सुन्धरा कारागार फर्किएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी आफैँ कारागार पुगेको सुन्धरा कारागारका प्रमुख कृष्णप्रसाद चापागाईंले जानकारी दिए ।
उनका अनुसार सोही प्रकरणमा कारागारमा रहेका पूर्वगृह सचिव टेकनारायण पाण्डे भने अहिलेसम्म नफर्किएको र उनीसहित अन्य कैदीबन्दीलाई खोज्ने कार्य जारी रहेको बताए । कतिपयले आफैं फर्किने जानकारी पनि कारागार प्रशासनलाई गराएका छन् ।
यसैबीच, सुन काण्ड र सनम हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती (गोरे) पनि सोही दिन कारागार फर्किएको कारागार प्रमुख चापागाईंले जनाए ।
सेन्ट्रल जेल प्रशासनका अनुसार भागेका ३३ सय कैदीबन्दीमध्ये करिब एक हजारले मात्र फर्केका छन् भने करिब सयजना विभिन्न जिल्लास्थित कारागारमा पुगेका छन् । बाँकी कैदीबन्दीको खोजी कार्य निरन्तर जारी रहेको प्रशासक कृष्णप्रसाद चापागाईंले बताए ।


















प्रतिक्रिया