काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ । बैठक अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बोलाइएको हो ।
पार्टीका सचिव तथा केन्द्रीय कार्यालयका प्रवक्ता डा. भीष्म अधिकारीका अनुसार बैठकमा आगामी ११ औँ राष्ट्रिय महाधिवेशनका तयारीसम्बन्धी निर्णय मुख्य एजेन्डा हुनेछ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनसँग सम्बन्धित विभिन्न प्रस्ताव, संरचना तथा व्यवस्थापनका बारेमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ ।
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ । सो अवसरका लागि प्रतिनिधि छनोट मंसिर १३ गते एकैदिन गर्ने निर्णय एमालेले गरिसकेको छ । त्यस्तै, पार्टीले आउँदो शनिबार काठमाडौंमा आयोजना गर्न लागेको प्रदर्शनबारे पनि बैठकमा समीक्षा तथा तयारी छलफल हुने अधिकारीले बताए ।
पार्टीले हालै प्रतिनिधिसभा पुनःस्थापनाका लागि सडक र न्यायालय दुवै माध्यमबाट दबाबमूलक राजनीतिक अभियान अघि बढाइरहेको छ ।
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको पार्टी कार्यालय मर्मतपछि आज पहिलोपटक च्यासलमै सचिवालय बैठक बस्न लाग्दैछ। यसअघि सचिवालय बैठक अध्यक्ष ओलीको भक्तपुर–गुण्डुस्थित निवासमा बस्ने गरिएको थियो ।


















प्रतिक्रिया