काठमाडौं । भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजीत पवार सवार निजी विमान दुर्घटनाग्रस्त भएको दाबी भारतीय सञ्चारमाध्यमहरूले गरेका छन् । सञ्चारमाध्यमका अनुसार बारामती विमानस्थलमा अवतरणका क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको हो ।
हिन्दुस्तान टाइम्स लगायतका भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईबाट बारामतीतर्फ जाँदै गरेको निजी विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो । उक्त विमानमा उपमुख्यमन्त्री पवारसहित उनका व्यक्तिगत सहायक, सुरक्षाकर्मी तथा विमान चालक दलका सदस्य सवार थिए ।
केही सञ्चारमाध्यमले दुर्घटनामा सवार सबैको मृत्यु भएको दाबी गरेका छन् । तर, घटनाबारे भारत सरकार वा महाराष्ट्र राज्य सरकारका आधिकारिक निकायबाट हालसम्म औपचारिक पुष्टि भने आएको छैन ।
दुर्घटनाको कारणबारे प्रारम्भिक रूपमा अवतरणका क्रममा मौसम वा प्राविधिक समस्याका कारण रनवेबाट विमान चिप्लिएको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलमा उद्धार तथा अनुसन्धान टोली परिचालन गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यस विषयमा थप आधिकारिक विवरण आउन बाँकी रहेको र पुष्टि नहुँदासम्म सबै विवरणलाई सावधानीपूर्वक लिनुपर्ने देखिन्छ ।

















प्रतिक्रिया