बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नं २ का उम्मेदार विष्णु प्रसाद पौडेलले आफूलाई मतदान गर्ने मतदातालाई कहिल्यै पश्चाताप गर्ने अवस्था सिर्जना नगरेको र आगामी दिनमा पनि नगर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । पौडेलले शनिबार आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा आयोजित चुनावी कार्यक्रममा बोल्दै विगतका काम, वर्तमान सक्रियता र आगामी योजनाबारे मतदातासमक्ष स्पष्ट धारणा राखेका हुन् ।
उनले निर्वाचन केवल मत माग्ने औपचारिक प्रक्रिया नभई मतदाताका समस्या सुन्ने, बुझ्ने र समाधानको बाटो देखाउने महत्वपूर्ण अवसर भएको बताए । “म चुनाव आयो भनेर मात्रै मतदाताको घरदैलोमा पुगेको होइन । म लामो समयदेखि यहाँका बस्ती, किसान, व्यापारी, युवायुवती, महिला तथा श्रमिक वर्गका समस्या सुन्दै आएको छु,” उनले भने, “निर्वाचनपछि पनि म एमालेको मात्रै प्रतिनिधि भएर बसेको छैन र बस्ने पनि छैन, म सबै मतदाताको साझा प्रतिनिधि भएर काम गर्दै आएको छु ।”
पौडेलले आफूले विगतमा गरेका कामहरू नै आफ्नो प्रमुख चुनावी एजेण्डा भएको उल्लेख गरे । “मैले के काम गरेँ भन्ने कुरा भाषणले होइन, उदाहरणले देखिन्छ,” उनले भने, “पूर्वाधार विकास, सडक सञ्जाल विस्तार, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएको लगानी, रोजगारी सिर्जनाका प्रयास-यी सबै कुरा मतदाताले देख्नुभएको छ ।” उनले आफूले गरेका कामको मूल्याङ्कन गर्न मतदातालाई आग्रह गर्दै त्यसकै आधारमा निर्णय लिन अनुरोध गरे ।
उनले मतदातालाई भावनात्मक आश्वासन भन्दा यथार्थपरक प्रतिबद्धता मात्रै गर्ने नीति लिएको बताए । “मलाई मतदान गरेर पश्चाताप गराउने छैन । जे प्रतिबद्धता गरेको छु, त्यो पूरा गर्नेछु र जे गर्न सक्छु, त्यही मात्रै प्रतिबद्धता गरेको छु,” उनले भने, “निष्ठापूर्वक काम गर्नेछु, सबै मतदाताको अपेक्षाअनुसार काम गर्नेछु ।”
उनले आफू लामो समयदेखि रुपन्देही क्षेत्र नं २ का भौतिक, सामाजिक र आर्थिक समस्यासँग प्रत्यक्ष रूपमा परिचित रहेको बताए । सोही आधारमा अल्पकालीन र दीर्घकालीन योजना तयार पारेर अघि बढेको उनको भनाइ छ । “समस्या बुझेर मात्रै योजना बन्छ, र योजना बनाएर मात्रै विकास सम्भव हुन्छ,” उनले भने, “मैले यहाँका प्राथमिकता छुट्याएर चरणबद्ध रूपमा काम गर्ने स्पष्ट खाका बनाएको छु ।”
क्षेत्रका नदीजन्य विपद् नियन्त्रण आफ्नो मुख्य प्राथमिकतामध्ये एक रहेको उल्लेख गर्दै उनले तिनाउ र दानव नदीबाट हुने कटान, डुबान र बस्ती जोखिम न्यूनीकरणका लागि दीर्घकालीन योजना अघि सारेको बताए । “हरेक वर्ष बाढी आउँदा बस्ती त्रसित हुन्छ, घरपरिवार विस्थापित हुन्छन्, कृषियोग्य जमिन क्षति हुन्छ,” उनले भने, “यसलाई स्थायी रूपमा समाधान गर्न पक्की बाँध निर्माणसहित बस्ती संरक्षणको दीर्घकालीन योजना अघि सारेको छु ।”
उनका अनुसार नदी नियन्त्रण, तटबन्ध विस्तार, जलप्रवाह व्यवस्थापन र जोखिम बस्ती पुनःसंरचना जस्ता कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाइनेछ । यसले भविष्यमा हुने मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्ने विश्वास उनले व्यक्त गरे ।
पौडेलले विकासलाई दलगत चस्माबाट हेर्न नहुने भन्दै मतदातालाई विवेकपूर्ण निर्णय लिन आग्रह गरे । “दल नहेरी दिनुहोला, जुनसुकै दलको हुनुहोला, तर काम र योजना कसका के छन् भन्ने विषयमा प्रष्ट हुनुहोला,” उनले भने, “अहिलेसम्म के काम भयो र अबका योजना के छन् भनेर उम्मेदवारलाई सोध्नुभयो भने सबै कुरा प्रष्ट हुनेछ ।”
उनले निर्वाचनलाई जनताको अधिकार प्रयोग गर्ने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरे । मतदाताले प्रश्न गर्ने, कामको हिसाब माग्ने र भविष्यको योजना बुझ्ने संस्कार विकास हुनुपर्ने उनको धारणा थियो । “मत माग्न आउनेलाई प्रश्न गर्नुहोस्, विगतको मूल्याङ्कन गर्नुहोस्, अनि मात्रै निर्णय लिनुहोस्,” उनले भने, “त्यो लोकतन्त्रको सुन्दर अभ्यास हो ।”
पौडेलले आफू विकास, सुशासन र स्थायित्वका एजेण्डासहित मैदानमा उत्रिएको बताए । आर्थिक गतिविधि विस्तार, औद्योगिक वातावरण सुदृढीकरण, कृषि आधुनिकीकरण, युवालाई स्वदेशमै रोजगारी र पूर्वाधार विस्तारलाई एकीकृत रूपमा अघि बढाउने योजना रहेको उनको भनाइ छ ।
“रुपन्देहीलाई आर्थिक रूपमा सबल, पूर्वाधारमा व्यवस्थित र अवसरले भरिएको क्षेत्र बनाउने लक्ष्य छ,” उनले भने, “यसका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर काम गरिनेछ ।”
कार्यक्रममा सहभागी मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले व्यक्तिगत तथा सामूहिक समस्या टिपोट गरेका थिए । सडक स्तरोन्नति, सिंचाइ, विद्यालय पूर्वाधार, स्वास्थ्य सेवा पहुँच, बाढी नियन्त्रण र रोजगारी मुख्य मागका रूपमा उठेको उनले बताए । उनले आफूलाई पुनः अवसर दिए अधुरा काम पूरा गर्ने, नयाँ योजना कार्यान्वयन गर्ने र क्षेत्रको समग्र विकासलाई तीव्रता दिने प्रतिबद्धता जनाए ।
“विश्वास गर्नुभएको छ, त्यसलाई परिणाममा बदल्ने जिम्मेवारी मेरो हो,” उनले भने, “मतदाताको विश्वास नै मेरो शक्ति हो ।” शनिबार उनले बुटवल ११ को शान्तिचोक, विभिन्न टोलमा भएका टोल भेला, तिलोत्तमामा अनेमसंघको भेला, संस्थागत विद्यालयहरुमा रहेका शिक्षकहरुसँग अन्तरसंवाद र पेशागत तथा निजामति सेवामा रहेकाहरुसँगको अन्तरसंवाद गरेर ती क्षेत्रमा अपेक्षाहरुको संकलन गरेको उनको सचिवालयले जनाएको छ ।

















प्रतिक्रिया