३ असार २०८३, बुधबार | June 17, 2026

मगर समुदायको प्रमुख पर्व भूम्या पर्व मनाईदै



बुटवल । मगर समुदायको नयाँ वर्ष ल्होछारपछि दोस्रो ठूलो पर्वका रूपमा मानिने भूम्या पर्व आजदेखि सुरु भएको छ । पाँच दिनसम्म नाचगान र विभिन्न धार्मिक–सांस्कृतिक कार्यक्रमसहित मनाइने यो पर्व प्रकृति र वातावरणसँग गहिरो रूपमा जोडिएको महत्वपूर्ण सांस्कृतिक पर्व हो ।

विशेषगरी खाम/पाङ भाषी मगर समुदायको बाहुल्य रहेका गाउँ तथा शहरमा हरेक वर्ष विविध कार्यक्रम गरी भूम्या पर्व मनाइन्छ । भूम्या पर्वमा मगर समुदायले भूमिलाई देवताको रूपमा पूजा गर्ने परम्परा रहेको छ। भूमिको पूजा गर्दा प्राकृतिक विपत्तिबाट बच्न सकिने विश्वास पनि रहँदै आएको छ ।

भूम्या पर्वमा भूम्या थानमा देवतालाई बलि दिई पूजा गरिसकेपछि लगातार पाँच दिनसम्म ‘भूम्या नाच’ नाच्ने चलन छ । मुख्य रूपमा रोल्पा, रुकुम, दाङ, प्युठानलगायत मध्यपश्चिम क्षेत्रका खाम/पाङ मगर समुदायले यस पर्वलाई आफ्नो मुख्य सांस्कृतिक पर्वका रूपमा मनाउँदै आएका छन् ।

अथार मगरात क्षेत्रमा बसोबास गर्ने खाम मगर समुदायले परम्परादेखि भूमिलाई देवता मानेर यो पर्व मनाउँदै आएको पाइन्छ । परम्परागत विश्वासअनुसार भूम्या पर्वको अवसरमा हुने भेलालाई वार्षिक जनगणनासमेत मान्ने चलन रहेको छ। साथै, पर्वमा अनुपस्थित रहने व्यक्तिलाई मृत घोषणा गर्ने तथा किरिया गर्ने परम्परासमेत रहेको बताइन्छ ।

पर्वका क्रममा २२ चालमा नाचिने भूम्या नाच विशेष आकर्षण मानिन्छ । यस अवसरमा गाउँका भद्रभलाद्मीको उपस्थितिमा गाउँको नेतृत्व चयन गर्ने परम्परा पनि केही स्थानमा अझै कायम छ ।

परम्पराअनुसार जेठ मसान्ततिर युवायुवतीहरू बाजागाजासहित बुकी फूल टिप्न उच्च पहाडी क्षेत्रमा जाने गर्छन् । यात्रा क्रममा नाचगान, पन्थौली बनाउने, न्याउली गीत गाउने लगायतका सांस्कृतिक गतिविधि गरिन्छ। बुकीमा पुगेर फूल टिप्ने, पूजा गर्ने तथा सामूहिक रूपमा रमाइलो गर्ने परम्परा रहेको छ ।

भूम्या पर्वका अवसरमा महिलाहरू परम्परागत गुन्यु–चोली, पोते–चुरा र चाँदीका गहनामा सजिन्छन् भने पुरुषहरू भोटो, कछाड र खुकुरीसहित परम्परागत पहिरनमा सजिन्छन् । यस पर्वलाई प्रकृति संरक्षण, आपसी सद्भाव र सामाजिक एकताको प्रतीकका रूपमा लिइन्छ ।

असार १ गते भूम्या थानमा पूजापाठपछि सुरु हुने नृत्य पाँच दिनसम्म निरन्तर चल्ने गर्छ । दमाहा, झ्याली, सहनाईलगायतका बाजाको तालमा भूम्या नाच नाच्ने परम्परा रहँदै आएको छ ।

भूम्या पर्वका अवसरमा रोल्पाको थवाङलगायत विभिन्न स्थानमा विशेष मेला समेत लाग्ने गरेको छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ९ : ०७ बजे

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका

राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ४५

पाल्पामा जनै बाट्न सिक्दै नयाँ पुस्ता

पाल्पा । पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा