३० भदौ २०८३, मंगलबार | September 15, 2026

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन



काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । उक्त खण्डमा यही भदौ २८ गतेदेखि परीक्षणका रुपमा यातायात सेवा सुरु भइसकेको छ भने आगामी असोज १ गतेदेखि पूर्ण रुपमा यातायात सञ्चालन सुरु हुनेछ ।

प्रधानमन्त्री वालेन्द्र शाहले यही भदौ १७ गते सङ्घीय संसद्मा सम्बोधनका क्रममा रसुवाको बाढीले क्षतिग्रस्त कृष्णभीर खण्ड भदौ महिना भित्रै सञ्चालनमा ल्याउने बताएका थिए । सोहीअनुसार पूर्वाधार विकास मन्त्रालयले उक्त खण्डमा ट्रयाक खोल्ने काम सुरु गरेको हो । सडक विभागका सिनियर डिभिजनल इन्जिनियर तथा नागढुङ्गा–नौबिसे–मुग्लिन सडकखण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार बाढीका कारण उक्त सडकखण्डमा क्षति पुगेको थियो । त्यसलगत्तै पूर्वाधार विकास मन्त्रालयले आवश्यक अध्ययन गरेको थियो ।

मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटी (एनजीएस) को सहयोगमा चार दिनसम्म स्थलगत प्राविधिक अध्ययन गरेको थियो । विज्ञहरुले कृष्णभीरको पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक बनाउन पहिलो विकल्पका रुपमा सुझाव दिएका थिए ।

“विभागले विज्ञहरुबाट विभिन्न सुझाव लिएर भदौ १९ गतेदेखि रुख कटान सुरु गरेको थियो, कृष्णभीर क्षेत्रमा ३५ मिटर उचाइ र पहाडको भित्रतर्फ २० मिटर खनेर ट्रयाक निर्माण भइसकेको छ”, इन्जिनियर पौडेलले भने । उनका अनुसार सो कार्यमा प्राविधिकसहितका ५० जनाले निरन्तर दैनिक १२ देखि १६ घण्टासम्म काम गरिरहेका छन् ।

फलस्वरुप काम सुरु भएको १०औँ दिन अर्थात् भदौ २८ गतेदेखि परीक्षणका रूपमा ग्यास बुलेटसहित केही सवारीसाधन सञ्चालन भइसकेका छन् । अहिले पनि बिहान र बेलुकाको समयमा अत्यावश्यक यातायातका साधन सञ्चालन भइरहेका छन् ।

संयोजक पौडेलका अनुसार हाल उक्त सडकखण्डमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ । “भदौ ३१ गतेसम्म ग्राभेलको काम पूरा हुनेछ । असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गरिनेछ”, उनले भने ।

नयाँ ट्रयाक सञ्चालनमा आएपछि माथिबाट पहिरो वा हिलो–लेदो खसेर पुनः यातायात अवरुद्ध हुन सक्ने जोखिमलाई कम गर्नका लागि तयारी भइसकेको छ । माथिबाट पहिरो आएमा तत्कालै हटाउनका लागि आवश्यक उपकरणहरु तयारी अवस्थामा राखिएका उनको भनाइ छ ।

विभागका अनुसार उक्त स्थानमा पानीसहितको लेदो आएर ग्राभेल बिगार्न सक्ने अवस्थालाई ध्यानमा राख्दै थप ग्राभेल सामग्री मौज्दात राखिएको छ । साथै पहाडभित्रबाट पानीको सिपेज सडकमा आउन सक्ने जोखिम कम गर्न ‘सर्फेस ड्रेनेज’को व्यवस्था गरिएको छ । माटोभित्रबाट आउने पानी सडकको संरचनामा प्रवेश गर्नुअघि उचित निकासमार्फत नालीमा पठाउने व्यवस्था पनि भइरहेको छ ।

कृष्णभीर माथिपट्टी पहाडमा केही चिरा पनि देखिएका छन् । ती चिराबाट पानी भित्र पस्न नदिन आवश्यक तयारी पनि भइरहेको छ । चिरालाई उपलब्ध प्रविधि तथा रासायनिक पदार्थ प्रयोग गरी सिल गर्ने र प्लास्टिकले छोपेर पानी प्रवेश गर्न नदिने उपाय अपनाइनेछ ।

कृष्णभीरको जोखिमलाई मध्यनजर गरी उक्त सडकखण्डको वैकल्पिक मार्गका रुपमा बेनीघाटदेखि फिस्लिङसम्मको करिब २० किलोमिटर खण्डमा ट्रयाक खोल्ने काम पनि अघि बढाइएको छ । उक्त सडकमा यात्रुवाहक सवारीसाधन वैकिल्पक रुपमा सञ्चालन गर्न मिल्ने गरी तयारी गरिएको छ ।

नयाँ ट्रयाकमा रातिको समयमा यात्रा सुरक्षित बनाउनका लागि सडक विभागले स्थानीय तहसँग समन्वय गरी बत्तीको व्यवस्था गर्ने तयारी भइरहेको जनाएको छ । साथै टल्किने स्टिकरलगायतका ट्राफिक सुरक्षा सामग्री पनि राखिनेछन् । हाल निर्माणका क्रममा बिहान करिब ६ देखि ७ बजेको बीचमा र बेलुका ६ देखि ७ बजेको बीचमा सवारीसाधनलाई आवतजावत गर्न दिइँदै आएको छ भने अत्यावश्यक अवस्थामा निर्माण कार्य रोक्दै सवारीसाधनलाई पास गराउने व्यवस्था गरिएको छ । रातिको समयमा भने सडक पूर्ण रूपमा बन्द गरिएको छ ।

यही भदौ १० गते भोटेकोशीमा गएको बाढीले कृष्णभीरको ‘सुरक्षा पर्खाल’मा क्षति पु¥याएको थियो भने भदौ १४ गते गएको अर्को बाढीले उक्त पर्खाल भत्काएपछि यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार  ४ : २८ बजे

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

घरजग्गाको कारोबारमा बढोत्तरी : गत आवमा सात खर्ब २० अर्बको कारोबार

काठमाडौँ । गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी